कोठा सर्दासर्दा दिक्क भइसकेको हरिनारायणलाई फेरि कोठा सर्नुपर्ने भयो। त्यो पनि अर्को स्टेटमा। उसको क्यालिफोर्नियाको राजधानी स्याक्रोम्यान्टोमा सरूवा भएको थियो। शुरुमा त सुरक्षित ठाउँ हेर्नुपर्यो। अनि काम गर्ने ठाउँको पायक पर्ने ठाउँ हुनुपर्यो। असल छिमेकीहरू भएको हुनुपर्यो। यसो तरकारी किराना पसल नजिक भए झन् उत्तम। सफासुग्घर र ध्वनिको प्रदूषण नभएको ठाउँ खोज्नुपर्यो। कहिलेकाहीँ यसो पब्लिक ट्रान्स्पोर्ट पनि केही नजिकै भए कतै जान आउन सजिलो हुने। तर भनेजस्तो बत्तिसै लक्षणले युक्त डेरा भेट्न त धेरै नै मुस्किल हुन्छ। भेटे पनि असाध्यै महंगो हुन्छ। त्यसपछि क्रेडिट चेक, अफिसको कमाई चेक, ब्याकग्राउन्ड चेक गर्न पनि समय लाग्छ। अनि चिनेजानेका रिफरेन्सका नामहरू, को-साइनरको नाम उपलब्ध गराउनु आदि इत्यादिले गर्दा झन्झटैछ डेरा सर्नलाई र डेरा पाउनलाई।
बल्लबल्ल गुहालीजस्तो लामो लामो दुई दुई तल्लाको बिल्डिङको दोश्रो तल्लाको छेउको कोठामा उसले कोठा भाडा पायो। बिचमा कोठा परेको भए दुई दुई जना छिमेकी हुन्थे। छेउमा परेकोले उसको एउटा मात्र छिमेकी हुने भयो। हुन त छिमेकी धेरै भए नै बेलाबखत केही परे सहयोग हुने आश तर पनि उसले चित्त बुझायो। अब छिमेकी कस्तो होला भन्ने उसलाई लाग्न थाल्यो। देश बिदेश विविधताका मानिसहरु आएर बसोबास गरेर बनेको यो देशमा, अझ पनि क्यालिफोर्निया राज्यमा उसको छिमेकीको उद्गम देश कुन होला भन्ने उसलाई लाग्न थाल्यो।
काठमाण्डौँमा क्याम्पस पढ्दा उसलाई डेरा खोज्न यस्तै अप्ठारो हुन्थ्यो। बिद्यार्थी त्यसमाथि पनि एक्लो भएपछि त कोठा पाउन नै हम्मेहम्मे पर्थ्यो। कतिको घरमा घण्टी हुन्थ्यो कतिको हुँदैनथ्यो। कतिले ढोका ढकढकाउदा खोल्थे कतिले खोल्दैनथे। कति घरमा त ढोका यसो ढप्काएको मात्रै हुन्थ्यो छुनासाथ खुल्थ्यो अनि “कोठा खाली छ ?” भनेर सोध्थ्यो। एकदिन त ढोका ह्वाङ खुल्दा त आफूसँगै आफ्नै क्लासमा पढ्ने साथीको घरमा पो पुगेको रैछ र केही सोध्दै नसोधी मुन्टो तल गरेर लाजले फनक्क फर्केर बाटो लागेको घटना उसको मानसपटलमा अझ पनि झल्झल्ती याद आउँछ।
तल्लो तला र माथिल्लो तलालाई एक एकवटा पार्किङ तल्लो फ्लाटको प्रत्येक ढोका अगाडि लस्करै तोकिएको थियो। हरिनारायणको पल्लो कोठाको छिमेकीको कालो रङ्गको कार थियो। प्राय: बिजिनेस डेजमा दिनभरि कार हुदैन थियो। शनिबार र आइतबार पार्किङमा उसको कार कहिले हुन्थ्यो कहिले हुदैन्थ्यो। त्यसैले उसको पल्लो कोठाको छिमेकी कतै जागिरे हो कि भन्ने उसलाई भान परेको थियो। फेरि विकएण्डमा पनि कहिले हुने कहिले नहुने भएकोले ब्यापारी हो कि जस्तो पनि लाग्थ्यो। अथवा घुम्न कतै गएको हो कि जस्तो पनि लाग्दथ्यो। एक्लो छ कि परिवार सहित भन्ने निधो पाउन पनि सकिदैन थियो। किनकि जहिले पनि चकमन्न र शून्य शून्य जस्तो हुन्थ्यो त्यो पल्लो कोठा।
हरिनारायणलाई उसको छिमेकीले डेरामा पकाएर खान्छ जस्तो पनि लागेन। तरकारी खानेकुरो किनेर ल्याएको पनि कहिल्यै देखेन। कुनै कुनै बेला चाहिँ छिमेकीको ढोका अगाडि कहिले पिज्जा कहिले खानेकुरोको बक्स डेलिभरी गर्ने व्यक्तिद्वारा राखिएको हुन्थ्यो। आफ्नो छिमेकीलाई ढोका खोलेर खानेकुरो लिँदा देखिन्छ कि भनि ठान्थ्यो तर छिमकी भने देखिदै देखिदैन थियो। यसो ऊ चिहाउँथ्यो, कतिखेर कतिखेर खानेकुरो भित्र लगिसकेको हुन्थ्यो। हुन त प्राय: यताका मान्छे पकाउने झन्झट मोल्नुभन्दा बाहिरै खान रूचाउछन भन्ने हरिनारायणलाई थाहा थियो। तर बाहिरको खानाले स्वास्थ्यलाई पनि हानी गर्ने र मंहगो पनि हुने भएकोले हरिनारायण चाहिँ सधैँ कोठामै पकाएर खान्थ्यो। उसलाई देशदेखि लागेको बानी। देशको डेरामा दमदिएर स्टोभमा पकाउनुपर्थ्यो। यहाँ ग्यासको यसो नब थिच्ने बित्तिकै बल्ने सजिलो चुलो भएकोले उसलाई पकाउन झन्झटै लाग्दैनथ्यो।
गारबेज फाल्ने ठाउँमा पनि हरिनारायणलाई दिनै जानुपर्थ्यो तर अहँ उसले छिमेकीलाई कहिल्यै देखेन। उसको फ्लाटको अर्को छेउको ठूलो कोठामा लुगा धुने वासरहरू र ड्राएरहरू राखेको थियो। तर उसको छिमेकी कहाँ लुगा धुन्छ कुन्नि कहिल्यै लुगाधुने कोठामा पनि देखिएन।
उसलाई नेपालमा छिमेकीसँग दिनहुँ कुरा गरेको, घुम्न गएको, अलिदिनकै हेलमेलमा मित्रता गाँसिएको याद आउथ्यो। त्यहाँ छँदा कतिचोटि छिमेकीको भान्सामा सँगै खाएको उसलाई पनि आफूसँग कतिपटक खुवाएको, बिरामी हुँदा छिमेकीको भरपूर साथसहयोग पाएको उसको दिमागमा ताजै छ। आफ्नो गाउँ, परिवार र नातागोता छोडी सहर आएपछि डेरामा बस्ने कोठा छेउको छिमेकी नै आफ्नै मान्छे जस्तै लाग्थ्यो। कोठा छेउको मात्रै नभएर पूरै घरकै डेरामा बस्ने जति आफ्नै मान्छे जस्तो लाग्थ्यो। तर यहाँ यति बिकशित मुलुकमा त कस्तो उल्टो। जनसंख्या भने कहाँ हो कहाँ बेसी तर पल्लो कोठाको छिमेकीको नाकमुख देख्न पनि ठूलै साइत नै जुर्नुपर्ने। देख्न भेट्न नपाइने छिमेकीसँग साथसहयोग नै के पाइएला र!
एकदिन छिमेकीलाई हरिनारायणले देख्ने मौका पायो। कोठाको ढोकामा साँचो लाउदै रहेछ। हरिनारायण बाहिरको आवाज सुन्नासाथ एकदमै छिटो ढोका खोली बाहिर हेर्न निस्केको थियो। तर छिमेकी त पछाडि नै नफर्की सुरुसुरु तल ओर्लेर गाडी स्टार्ट गरेर घुइया गइहाल्यो। उसलाई पछाडिबाट देखे पनि छिमेकी यस्तो रहेछ भन्ने मोटामोटी हुलिया चाहिँ थाहा भयो। अलि अलि घुम्रेको कपाल, अग्लो, छरितो पातलो शरीर गोरोवर्णको हेर्दा खुबै फूर्तिलो जस्तो रहेछ।
दोश्रो चोटि चाहिँ बाटोमै झम्काभेट भयो। हरिनारायणले यसो मुस्काएर छिमेकीलाई हेर्यो। तर छिमेकीले चिनेन वा चिन्न खोजेन। उसलाई पहिलो चोटि पछाडि मात्र देखेको थियो। यो चोट्टी अगाडिबाट देख्दा त उसको मलिन अनुहार, अनुहारमा खुसी हराएको जस्तो, कता कता अल्मलिएको जस्तो, एकलकाँटे भए जस्तो, निराश भए जस्तो, के के नपाएर अन्योलतामा रूमल्लिए जस्तो लाग्थ्यो। अनि हरिनारायणलाई यस्तो लाग्न थाल्यो देश जति ठूलो र बिकसित हुँदै गयो त्यति मान्छे एक्लिदै जाँदो रहेछ। त्यसैले यति ठूलाठूला गगन चुम्बी बिल्डिङ मानिसै मानिसले भरिए पनि कोठा कोठामा मानिस एक्लै छन्, उनीहरुलाई छरछिमेकको चाहा छैन, छरछिमेकको मतलब छैन, भनुन छरछिमेको आवश्यकता नै छैन। उसलाई यस्तो लाग्यो संसारबाट नै मानिस यहाँ थुप्रिदा रहेछन् सबैलाई बिर्सनलाई। अनि छिमेकीलाई किन सम्झिउन।
यस्तै यस्तै सोच्दा सोच्दै हरिनारायणलाई लाग्यो यहाँ कोही कसैको छिमेकी हुँदो रहेनछ। हर मानिसलाई परिस्थितिले, बाध्यताले, यहाँको चालचलनले एक्लो झन् एक्लो बनाउदै लाँदो रहेछ। मान्छेलाई जन्मेदेखि मरेपछि सम्मलाई इन्सुरेन्स कम्पनिले घेरेको हुँदो रहेछ। त्यसपछि पढाइ देखि खानापिन, बसाई, घुमाइ, ब्यापार व्यवसाय आदिमा क्रेडिट, लोन र ब्याजले घेरको हुँदो रहेछ। अनि किनमेल, खर्चबर्च, घरगाडी आदिको ट्याक्सले घेरको हुँदो रहेछ। त्यस्तो भएपछि चारैतिरबाट ऋणै ऋणले बाँधिएपछि मानिस मुस्काओस पनि कसरी। हरिनारायणको छिमेकी कुन कारणले उसको प्रतिउत्तरमा मुस्काएन त्यो अर्कै कुरो हो तर आम मानिसहरू यी विविध समस्यामध्ये कुनै न कुनैले पिरोलिएका होलान जस्तो लाग्यो हरिनारायणलाई। लामो सास फेरेर उसको मुखबाट फुत्त फुत्कियो “संसारभरिका धनि देशका मानिसहरूको मन चाहिँ कति गरीब।“ कस्तो गज्जब छ। उनीहरूलाई कोठा छेउकै छिमेकीसँग चिनजान गर्ने, बोल्ने, कुरा गर्ने अलिकति पनि समय छैन। उनीहरूको दैनिकी व्यस्तताले हो वा समस्याले हो वा के ले हो फुर्सदै छैन।
नेपालमा जस्तो काकाकाकी, मामामाइज्यू, नातागोता, छरछिमेक आएर भेटे जस्तो पल्लो कोठाको छिमेकीलाई कोही पनि भेटन आएको देखिदैन थियो। यहाँ सम्मकि उसकै बुवाआमा दाजुभाइ दिदीबैनी पनि कहिल्यै भेटन आएको देखिएन। न कुनै चाडपर्व मनाएको देखियो न कुनै रमझम गरेको देखियो। सधैँको त्यो सुनसान पल्लोकोठाको न्यास्रोपनले हरिनायणको कोठासम्म निरसता छाएको थियो। यस्तो ताल देखेर हरिनारायणलाई पनि त्यो बिल्डिङ, उसको त्यो कोठा, नरमाइलो लाग्न थाल्यो। त्यहाँबाट सरेर कुनै नयाँ ठाउँमा जान पाए साथसहयोग गर्ने छिमेकी भेटिन्छ कि भन्ने लाग्नथाल्यो। तर ऊ पढन जाँदा, डुल्दा यहाँको सबै ठाउँ नै त्यस्तै सुनसान र चकमन्न देखेर जहाँ गए पनि छिमेकी यस्तै त होलाननि जस्तो लाग्यो।
यही शून्यता र निरसताको बिचमा एकदिन अचम्मको घटना घट्यो। छिमेकीको कोठाको बाहिर एम्बुलेन्स, प्यारामेडिक र पुलिसहरु जम्मा भएका थिए। ढोकाको ताल्चा फुटाइएको थियो। एकजना पल्लो कोठाको छिमेकी जस्तै अनुहार भएकी आइमाई सुक्क सुक्क रूँदै थिइन्। त्यो फल्याटका चारपाँचजना मानिस जम्मा भएर बिस्तारै गुनगुन गर्दै कुरा बुझ्ने र बुझाउने गरेजस्तो लाग्दथ्यो। हरिनारायणले यसो उनीहरूको नजिकै गएर कान थाप्यो। उसलाई थाहा भयो उसको पल्लो कोठाको छिमेकीको त मृत्यु पो भएको रहेछ। पाँचदिनसम्म त कसैले थाहा पाएनछन्। सुक्क सुक्क रूँदै आँसु पुछने आइमाई त पल्लो कोठाको छिमेकीको दिदी रहिछिन्। शिकागोबाट त्यहीदिन आइपुगेकि। पल्लो कोठाको छिमेकीको काम गर्ने अफिसको हाकिमले पुरै पाँचदिन ऊ अफिसमा गयल भएपछि उसलाई कति फोन गरेछ। त्यसपछि पनि फोन नउठेपछि उसको अफिसको इनफरमेशन कनट्याक्ट परसनमा दिदीको फोन फेला पारेछ। अनि उसकी दिदीलाई फोन गरि अफिसमा ऊ गयल भएको खबर गरेछ।
हरिनारायणको पल्लो कोठाको छिमेकीको दिदी शिकागोबाट आएर पुलिसको मद्दतमा ताल्चा फोडेर भित्र जाँदा त बर! बिचारा पल्लो कोठाको छिमेकी त एकहातमा फोन समातेर भुँइमा लडिरहेको रहेछ। अनि उसको त चारपाँचदिन अगाडि नै मृत्यु पो भइसकेको रहेछ। सायद उसले इमरजेन्सी कल गर्न फोन समातेको हुँदो हो। के गर्नु एक्लो भएको कारण अन्तिम अवस्थामा पनि कसैको साथ सहयोग पाउन सकेन। सधैँको सुनसान र चकमन्न हुने भएकोले बिल्डिङमा कसैलाई थाहासुद्धि नै भएन। कस्तो बिडम्बना!
त्यसपछि शवबाहनमा चढाएर उनीहरुले पल्लो कोठाको छिमेकीलाई लिएर गए। शबबाहनको पछिपछि पल्लो कोठाको छिमेकीको दिदी उदास भएर आँखामा आँसु लिइ गाडी हाक्दै थिइन्। त्यहाँ जम्मा भएका मानिसहरुसँगै उभिएर निन्याउरो मुख लगाएर हरिनारायणले पनि त्यो हृदयविदारक दृश्य हेरिरह्यो। पल्लो कोठाको छिमेकीको मृत्युको करूण दृश्य देखेर उसको पनि आँखा रसायो।
अनि एमबुलेन्स, प्यारामेडिक र पुलिसका गाडीहरु आफ्नो गन्तव्यतिर लागे। यसो हरिनारायणले पल्लो कोठाको छिमेकीको सधैँ सुनसान हुने कोठातिर नजर दौडायो त्यो झन् शून्य शून्य लाग्यो। कोठामा सबैथोक हराएको जस्तो लाग्यो। चिनजान र बोलचाल गर्ने मौका नपाए पनि पल्लो कोठामा कोही त छ भन्ने लाग्थ्यो उसलाई। अब त्यो पल्लो कोठाको छिमेकी कहिले पनि नआउने गरि गएको थियो। त्यो पल्लो कोठलाई सधैँको लागि छोडेर। अनि यो संसारैमा नफर्किने गरी। हरिनारायणको मनलाई पनि एउटा दु:खद घटनाको याद दिलाएर।
हरिनारायणले नेपालमा छँदा सुनेको थियो कि छिमेकी ‘जिउँदाको जन्ति मर्दाको मलामी’ हुन्छन भनेर। तर ऊ पल्लो कोठाको छिमेकीको मृत्युमा मलामी हुन पाएन। हरिनारायणले पल्लो कोठाको छिमेकीको कार पार्क गर्ने स्पट हेर्यो। कार टो गर्नेले उसको कार लाँदै थियो। केहीबेर पछि उसको पल्लो कोठाको छिमेकीको कार स्पट पनि खाली भयो। अब त्यो पार्किंङ स्पटमा उसको पल्लो कोठाको छिमेकीको कार कहिल्यै पनि फर्किएर आउँदैन।
रातभरी हरिनारायणलाई पल्लो कोठाको छिमेकीको त्यो बिर्सन नसकिने घटनाले राम्ररी निद्रा पनि परेन। घरिघरि सपना हो कि के भएको हो जस्तो लाग्थ्यो। उसलाई लाग्यो मानिस एकचोटीको जिन्दगीमा पनि किन आफ्नो जन्मे हुर्केको ठाउँ छोडेर अर्काको पराइ ठाउँ, पराइ देशमा जान्छ। न त्यहाँका मानिस आफ्नो हुने न त सँगैको पल्लो कोठामा बस्ने छिमेकी आफ्नो हुने। न दु:ख सुख साटन पाइने। न त बिरामी परेकोबेला साथसहयोग नै पाइने। कस्तो एकोहोरो अनि एकलास जिन्दगीको ठाउँ। यस्तै सोच्दा सोच्दै बिहानीपख झपक्क निदाएछ हरिनारायण। भोलिपल्ट उठेर ऊ यसो ढोका बाहिर निस्कियो। उसको नजर पल्लो छिमेकीको कोठातिर गयो। सधैँ छोपिने झ्यालहरुका ब्लाइन्डसहरु माथी सुर्किएको थियो। उसको पल्लो कोठाको छिमेकीको कोठाभित्र केही पनि सामान थिएन। सबै खाली खाली थियो।
एकछिन पछि केही काम गर्ने मानिहसरू आएर उसको पल्लो छिमेकीको कोठालाई मर्मतसंभार र रंगरोगन गर्न थाले। सायद अब त्यो कोठा तयार भएपछि फेरि उसको अर्को नयाँ छिमेकी आउनेछ। जिन्दगी यस्तै रहेछ आउने र जाने। पहिले यस्तैगरि गाउँदेखि शहर, शहरदेखि बिदेश जाने। अनि संसारैबाट कहिले नफर्किने गरि जाने।
अब उसले यकिन गर्यो उसको मास्टर्स डिग्रीको पढाइ सकिनासाथ अर्को बर्ष नै नेपाल फर्किएर जानलाई। हरिनारायणलाई पल्लो कोठाको छिमेकीको मृत्यु जस्तो अन्तिम बेलामा आफ्नो परिवार, नरनाता र आफन्त बिना एक्लै मर्न अलिकति पनि मन छैन। आफ्नो देशमा गएर उसलाई बिहे गर्न मन छ। बिहे हुँदा उसका परिवार, नातागोता, साथीभाई र पुरै गाउँलाई जिउँदाका जन्ती बनाउन मन छ। त्यसरी नै गाउँ-शहरका सबै आफन्त उसका मर्दाका मलामी हुन भन्ने उसको चाहना छ।
हरिनारायण त्यति नजिक भएर पनि ऊ त्यो पल्लो कोठाको छिमेकीको मर्दाको मलामी बन्न पाएन। यो कुरोले चाहीँ उसको मन रून्छ।
(लस एन्जेलस)