काठमाडौं ।
नेपालीहरूको मुख्य चाडका रूपमा लिइने दशैँको चहलपहल बढेको छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)का दिन जमरा राखेपछि दशैं सुरु भएता पनि सप्तमीका दिन फूलपाती भित्र्याएसँगै दशैं पनि प्रत्येकको घरघरमा भित्रिन्छ । दशैंको मुख्य दिन दशमीका दिन मान्यजनबाट टिका र जमरा ग्रहण गरी दशैं मनाउने परम्परा छ ।
हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन आफूभन्दा ठूला र मान्यजनहरुको हातबाट टीका र प्रसाद ग्रहण गर्ने चलन छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म धार्मिक विधिले प्रत्येक दिन फरकफरक देवीहरूको पूजा हुन्छ ।
दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । जस अनुसार प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा हुन्छ । दशैँ दिन विजया दशमीका दिनलाई रामले रावणमाथि, दुर्गाले शुम्भ निशुम्भ र महिषासुरमाथि विजय गरेको दिनका रुपमा सम्झिदैँ नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ । यसलाई असत्यमाथि सत्यको विजयको रूपमा लिइन्छ ।
यसो त दशैँलाई परम्परागत र धार्मिक मान्यताका आधारमा भन्दा पनि सामाजिक सद्भाव र पारिवारिक पुनर्मिलनको रूपमा मनाउने चलन पनि बढ्दै गएको छ । पहिले पहिले नेपालमा सबैजसो जाति, जनजाति र सम्प्रदायले दशैलाई समान रूपमा मनाउँदै आएको भएता पनि केही वर्षदेखि दशैँ मनाउने विषयमा मतमतान्तर देखिदै आएको छ ।
राज्यले दशैलाई हिन्दुहरूको चाडको रूपमा भन्दा पनि राष्ट्रिय चाडका रूपमा विकसित गर्नुपर्नेमा जोड दिन थालिएको छ । दशैँ सबै नेपालीको राष्ट्रिय चाड बनाउन यसको प्राकृतिक र समाजिक मूल्यको पनि खोजी हुन थालेको पाइन्छ । राज्यको उपल्लो तहमा बस्नेहरू भने दशैँलाई हिन्दु धर्मबाट अलग गरेर सबै नागरिकको साझा पर्वको रूपमा विकसित गर्ने दिशामा बाधक बन्दै गएको देखिन्छ ।
दशैंमा घरआँगन र बाटोघाटो, टोल गाउँ सफा गर्ने, राम्रो लगाउने, शुभकामना आदानप्रदान गर्ने र आफन्तजनसँग भेटघाट गर्ने प्रचलन रहिआएको छ । दशैँमा विदेशिएका आफन्तजन फर्किने र ठूला बडाका हातबाट टिका ग्रहण गरी आर्शीवाद लिने चलन छ ।
दशैँको अवसर पारेर गाउँघरमा फर्किएकाहरूसँग गाउँको विकास निर्माणका लागि छलफल गर्ने, गाउँको सांस्कृतिक विकासका लागि कार्यक्रमहरू आयोजना गर्ने प्रचलन पनि बढ्दै गएको पाइन्छ । कोट र मन्दिरमा पशुबली दिने र रावण बधको खुसीयालीमा रामलीला गर्ने प्रचलनमा पनि कमी आएको देखिन्छ । दशैँ रावणको वधको खुसीयालीमा सुरु गरिएको पर्व नभै नेपालीहरूको मौलिक पर्व हो र यो प्राकृतिक र सामाजिक मूल्यसँग जोडिएको पर्व हो भन्ने बहसले तीव्रता पाउँदै आएको पाइन्छ ।
सामाजिक र सांस्कृतिक अभियन्ताको प्रयास र युवापुस्तामा विकसित हुँदै गएको धार्मिक अन्धताविरोधी सोचका कारण दशैँ धार्मिक मात्र नभएर सामाजिक र सांस्कृतिक पर्वका रूपमा विकसित हुँदै गएको छ ।