काठमाडौं ।
कवि तथा निबन्धकार विनोदविक्रम केसीको पहिलो निबन्ध सङ्ग्रह ‘भेन्टिलेटरमा आमा’ सार्वजनिक भएको छ । ‘भेन्टिलेटरमा आमा’ सोमबारदेखि बजारमा पुगेको प्रकाशक संस्था बेला पब्लिकेसन्सले जनाएको छ ।
‘भेन्टिलेटरमा आमा’मा २९ वटा निबन्धहरु सङ्गृहित छन् । ‘खासमा यो मेरो सम्झनासङ्ग्रह पनि हो,’ निबन्धकार केसीले भने, ‘केही मान्छे, केही घटना अनि केही सन्दर्भलाई स्मृतिको तानमा हालेर ‘केही’ बुन्न खोजेको छु । केही दिवङ्गत प्रिय मान्छेका बारेमा केही पृष्ठ अर्पण गरेको छु, बाल्यकाल र किशोरवयमा सयर गरेको छु, भोगाइ तथा जियाइसँग जोडिएका केही मुद्दा र सवालमा टिप्पणी गरेको छु ।’ केसीले निबन्धमा आफूले बाँचेको समय र समाजका मिठास र कटुता, जलन र शीतलता, प्रेम र क्रुरतालाई व्यक्त गरेको बताएका छन् ।
लामो समयदेखि व्यंग्य, संस्मरण, निबन्धमा कलम चलाउँदै आएका केसी फुटकर लेखनबाटै निबन्ध विधामा पाठकहरुद्वारा रुचाइएका लेखक हुन् । तिख्खर भाषामा व्यंग्यचेती गद्य लेखन उनको परिचय हो । उनी निबन्धसँगै कविता, कथा, अनुवाद, सम्पादनलगायत सिर्जनकर्ममा सक्रिय छन् ।
केसीको यसअघि ‘भोकको क्षेत्रफल’ (२०६९) कविता सङ्ग्रह प्रकाशित छ ।
बेलाको छैठौं पुस्तकका रुपमा केसीको निबन्ध प्रकाशित भएको पब्लिकेसन्सकी अध्यक्ष वन्दना ढकालले बताइन् । काठमाडौं उपत्यकाभित्र र बाहिर ‘दोबिल्ला बुक्स’ले पुस्तक वितरणको जिम्मा लिएको पनि उनले जानकारी दिइन् । काठमाडौं उपत्यकाभित्रका पाठकका लागि दोबिल्लाले नै होम डेलिभरीको समेत व्यवस्था गर्ने बेलाले जनाएको छ ।
केसी पब्लिकेसन्सका सम्पादक समेत हुन् । यसअघि उनी डेढ दशकसम्म विभिन्न सञ्चारगृहसँग आबद्ध भई सक्रिय पत्रकारितामा संलग्न थिए ।