अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले “साहित्यका लागि एक डलर” अभियानको घोषणा गरेको छ । भाषा, साहित्य, कला र संस्कृतिको विकास, विस्तार तथा विश्वव्यापीकरणको उदेश्य राखेर यस अभियानको घोषणा गरिएको हो ।“साहित्यिक संस्थाले आर्थिक रुपमा आफुलाई आफैँले सक्षम बनाउँदै लैजानुपर्ने आजको आवश्यकता हो ।”, केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष कृष्ण गिरीले भने, “यो अभियानले अनेसासलाई दर्बिलो तथा सक्षम बनाउँछ भन्ने हाम्रो विश्वास रहेको छ ।” साथै, उनले यो एक स्वेच्छिक अभियान रहेको पनि जनाएका छन् । यस अभियान अन्तर्गत आफ्नो इच्छाले हरेक महिना अमेरिकी एक डलर बराबरको रकम अनेसासलाई प्रदान गर्न सकिनेछ ।
सहयोग रकमलाई पारदर्शी बनाउनका निम्ति स्पष्ट आर्थिक कार्यविधि बनाएर बढ्ने कुरा संस्थाबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । कोषाध्यक्ष कृष्ण गिरीको संयोजकत्वमा गोपेस मास्के (अमेरिका ), बिहान तिमिल्सिना ( स्पेन ), किशोर श्रेष्ठ ( नेपाल ), चन्द्र तिवारी (अस्ट्रेलिया ) सदस्य रहेको केन्द्रीय आर्थिक समिति समेत गठन गरेको बताइएको छ ।
यस अभियानमा जोडिन चहानुहुनेले संस्थाको खाता ( Wells Fargo Bank, AC holder: International Nepali Literary Society AC No. 2000031767873 ) मा वा सन्स्थाको वेबसाइट अन्तर्गत पे-पल मार्फत् महिनाको एक डलर दाखिला गर्न सक्नेछन् । कारोबारको सहजताको लागि वार्षिक रकम एकमुस्ट सहयोग गर्न सकिने ब्यबस्था पनि रहेको छ ।
अनेसास नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको विकास तथा विश्वव्यापीकरण गर्ने हेतुले आजभन्दा ३० वर्षअघि स्थापना भएको संस्था हो । हाल, विश्वभरका स्रष्टाहरुको साझा मञ्चका रुपमा यस संस्थाले आफूलाई उभ्याएको छ । अनेसासको विश्वभरमा पाँच दर्जनभन्दा बढी च्याप्टरहरु सक्रिय छन् ।