कृष्णले आँखा उघारिरहेको बेला देवकी आँखा चिम्लदै थिइन् त्यो बेला देवकीका आँखामा आत्मसन्तुष्टि नाचिरहेको थियो कि डर ? भन्नेहरुले अझैसम्म पनि भनिरहेकै छन् भाँडाहरु फुटाएर तिमीले पोखिदिएका थियौ लोभ उठाउनै नमिल्ने गरी । कपटको लाक्षगृह बनाएर मनभित्र आगो बोकी बस्नेहरूले नै अलापिरहेका छन् तिमीलाई पक्षपाती भनेर। कोट्याएर कोपिला वास्ना लिनेहरु नै भनिरहेका छन् तिमीलाई ब्यभिचारी र दिइरहेका छन् अश्लील गालीहरु आमाको नाममा । कृष्ण ! तिमीले उठाइदिएको प्रेमको गोबर्धन पग्लिएर कुरुप भएको छ समय चिरहरण भएर अर्धनग्न बाँचिरहेको छ युग, ठीक यो बेला तिमी भने वासुरी बजाइरहेका छौ । यता युगले फुकिरहेको छ विगुल र मागिरहेको छ प्रेमको नयाँ समाजशास्त्र, प्रेमका भिन्नै सिद्धान्तहरु र प्रेमको बिल्कुलै नयाँ परिभाषा । (मोरङ)