लोकन्थलीबाट काभ्रेस्थली पुग्नुपर्ने थियो । बाटोमा निकै ट्राफिक जाम थियो । धेरैबेर कुर्दा पनि गाडी आएन । मलाई गन्तव्यमा समयमा पुग्नुपर्ने थियो त्यसैले मैले `पठाओ´ बोलाउने बिचार गरेँ ।
`पठाओ´को एप्समा आफ्नो लोकेसन र डेस्टिनेसन सेट गरेर बाइकको लागि अर्डर गरेँ । पाँच मिनेटमै कालो पल्सरमा, कालो ज्याकेट र कालै चश्मामा सजिएको सुन्दर र खाइलाग्दो युवक मेरो अगाडि आइपुगेर मलाई फोन डायल गर्यो । उसकै सामुन्नेमा उभिएकी मैले कल रिसिभ गरेको देखेपछि उसले इशाराले सोध्यो तपाईं नै हो ? मैले स्विकृतिमा टाउको हल्लाएँ।
उसले बाइकमा बस्ने इशारा गर्यो । मोबाइको जिपिआरएस सिस्टममा केके मिलायो र बाइक कुदायो । कुदायो भन्दा पनि उडायो भन्दा ठिक होला। पल्सर बाइकमा असी नब्बेको स्पिडमा तिनकुने-सुर्यबिनायकको चिल्लो सडकमा हुइँकाउँदा म बत्तिएँ । नसमातूँ भन्दाभन्दै पनि सुखै भएन किनकि चिप्लो कुर्ता कतै चिप्लिएर वाइकबाट खस्छु कि भन्ने डर थियो। गन्तव्य सम्मको सफर लामो थियो । सफर सहज र रोमाञ्चक बनाउने मनसायले मैले उसको दिमाग चाट्ने सोँच बनाउन थालेँ।
मुख उसको काननेर लगेर फुस्फुसाएँ, `होइन हौ ह्यान्डसम् पनि के सारो हो के ? कालो कोट कालो चस्माले त कस्तो ऋतिक रोशन जस्तो देखि´राछ। शरीर पनि उस्तै, हाइट पनि उस्तै´ ।
कस्तो प्रतिक्रिया आउने हो भनेर डर र कौतुहलताले बेचैन भइरहेको बेला कुनै जवाफ नआएपछि मलाई झनक्क रीस उठेर आयो। ऊ मेरो कुरा सुनेर पनि जवाफ नदिएपछि मैले फेरि जिस्किदैँ भनेँ “के हो तपाई लाटो हो कि के-के हो ? हेन्डसम भनिसकेपछि त कमसेकम औपचारिकता निभाउनलाई पनि धन्यवाद त भन्न सकिन्छ नि´´ । झन् अधैर्य भई उसको जवाफ कुरिरहेको थिएँ तर पनि कुनै प्रतिक्रिया नआएपछि फेरि सोधेँ, “आफुलाई भने यहि बाइकमै तपाईंसँगै उडेर कतै जाऊँ भा को छ । एकैनजरमा तपाइँले सिसाको गोलिलेझैँ मेरो मुटु वारपार गराउनु भएको छ । लभ एट फर्स्ट साइटमा विश्वासै लाग्थेन तर जब तपाईंसँग नजर जुध्यो बल्ल थाहा भयो यस भनाइको अर्थ ।
तपाईंको गर्लफ्रेन्ड त छैन नि ? हे भगवान कोही नहोस् तपाईंको जीवनमा । मै एकछत्र शाशन गर्न पाऊँ तपाईंको मनमुटुमा । जीवनमा पहिलोचोटि कसैसँग प्रेममा परेको छु प्लिज गड मलाई साथ देऊ।´´
बोलिमा ब्रेक नलगाई यस्तै बोल्दै उसको ज्याकेटमा समातेर हुइँकिइरहेकी थिएँ बाइकले घ्याच्च ब्रेक लगायो र रोक्यो । के भएछ भनेर हेरको हामी त डेस्टिनेसनमा पुगिसकेका रहेछौँ । म बाइकबाट झरेर र पैसा झिक्न ब्यागमा हात के हाल्दै थिएँ उसले भन्यो, `पैसा दिनु पर्दैन´ । म चीरपरिचित आवाजले झसङ्ग भएँ । कसको स्वर भनेर ठम्याउन नपाउँदै कालो चस्मा, मास्क र हेल्मेट खोलेर सिधै मेरो आँखामा आँखा जुधाउँदै भन्यो, `म्याडम अझै कति खेल्नुहुन्छ यो फोहोरी खेल ! अझ कति जनालाई रुवाउनुहुन्छ मलाई जस्तै ? अझै पनि तपाईंलाई पुगेको छैन ? यो फोहोरी खेलमा बाजि मारेर कतिवटा तक्मा पाउने मन छ ? तपाईंको हिंस्रक खेलबाट घाइते भएकाहरुको के हालत भएको छ सोच्नु भएको छ कहिल्यै ?
म उसलाई देखेर म अवाक भएँ । दिमाग शून्य भयो। थाहै नपाई मुखबाट उसको नाम निस्केछ..
पुष्कर तिमी ?…
(काठमाडौं)