नबाँध मलाई फलामे जन्जिरले नलगाऊ मेरो स्वतन्त्रतामाथि अङ्कुश म त सर्वत्र छु यायावर हुँ छैन घर-बार तापनि खुसी नै छु तिमी जस्तो होइन म कुवाभित्रै समुद्र खोज्ने निस्सासिएर बस्ने जहाँ मनलाग्छ वहाँ जान्छु सारा विश्व नै मेरो घर हो त्यसैले थुन्ने प्रयास नगर् मलाई वर्ग आकृतिको सन्दुकमा साङ्लो नलगाऊ मेरो चालमा मेरो केही आकृति छैन पानी जस्तै स्वच्छ छु हावा जस्तै स्वतन्त्र छु न छन् भुजा न पाखुरा त्यसैले मलाई चतुर्भूज/ त्रिभूजको आख्या नदेऊ मलाई विष्णु बन्ने रहर छैन वामन भएर बलीको घमण्ड पनि तोड्ने इच्छा छैन म त बस् बाँच्न चाहन्छु म जान्दिनँ आदिकाल मध्यकाल आधुनिककालको व्याख्या अथवा भक्ति रीति छायावादको परिभाषा न मलाई थाहा छ प्रयोगवाद प्रगतिवाद अथवा स्वच्छ्न्दवादको धारा मलाई लिएर नलगाऊ कुनै नारा मुस्किलले म मुस्काउँदै छु तिम्रो "टाग अफ वार" मा म धस्किँदैछु भाँचिदैछु चुँडिदैछु खिइँदैछु मलाई भेट्न चाहन्छौ भने ढुङ्गाको थाप्लोमा बसी हावालाई सुन नदी-खोलालाई हेर शिशुको अबोध मुस्कानलाई पढ् म त चारैतिर छु प्रकृतिमा छु दयामा छु, करुणामा छु खेतमा छु, मरुभूमिमा छु तिम्रो हत्केलामा होइन तिम्रो मनभित्र छु मन्दिरमा होइन मस्जिदमा होइन मानवतामा छु ममाथि नानाथरीका प्रयोग नगर साथी यतिबेला तिम्रो प्रयोगशालामा म छट्पटाइरहेकी छु प्राण निस्किन आँटेको जस्तो लागेको छ त्यसैले म बिन्ती गर्दैछु मलाई हावा भई उड्न देऊ पानी भई झर्न देऊ नदी भई बग्न देऊ सन्दुकमा थुनेर कुनै अधिकार नलागाऊ ममाथि मलाई स्वतन्त्र बाँच्न देऊ म कविता हुँ कविता भएरै बाँच्न चाहन्छु कुनै अवतारी आत्मा भएर बाँच्ने इच्छा छैन मेरो (विश्वनाथ, असम)