अनुभुतिका शिखाहरूले जब काव्यसौन्दर्यका बगैँचाहरू आलोकित पार्छन्, तब संबेदनाका भावथुँगाहरू एकाकार भएर स्पन्दित हुँदारहेछन् । हिजोका कोपिला अथवा भनौँ इजाहरू जब न्यानो घामका किरणहरूको चुम्बनबाट टाढिन्छन्, जीवन त्यहाँ मुस्कुराउन पाउँदैनन् तब स्रष्टाले अनुभूतिको अर्घ्य दिँदारहेछन् । कवि मञ्जुला तामाङ सु्ब्बाको इजाप्रतिको इज्या नै इजा अर्घ्य (२०२१) हो । जसमा ३९ ओटा कविताहरू सङ्ग्रहित छन् जसलाई भर्खरै इजा प्रकाशन घूम, दार्जीलिङद्वारा प्रकाशित छ ।
आँसुले कविता लेख्दा अक्षर भिजाएको हुन्छ, मुटुले ढोलक बजाएको हुन्छ र नसाहरू बुरुकबुरुक नाचेका हुन्छन् । न त तिनमा क्रोचे खोज्न मिल्छ, न माक्र्सले नै मुन्टो उठाइरहेका हुन्छन् । न नवरस, अलङ्कार र अनुप्रासका गणित नै झुत्तिन्छन् । मञ्जुला एक सर्जक हुन् उनको कविताहरूमा भोगेका जीवनको वास्तविक अनुभूति प्रस्तुत गरेकी छन् ।
आजको कविता फगत कल्पना होइन । यथार्थको नजिक रहेर प्रखर अभिव्यक्तिमा पोखिन्छन् आजको कवितामा । त्यसैले कवि मञ्जुलाका कविता पनि यथार्थकै धरातलमा उभिएका भेटिन्छन् । तर यो यथार्थबाट चिप्लिएर कवि कतैकतै अति भावुकतातिर गएकी हुन् कि भन्ने लाग्छ । विशेषत ‘स्नेही इजा !’ र ‘वाचा तिमीलाई’ मा यस्तो अनुभूति आउँछ ।
सिङ्गार्न छोडिदिएँ तिम्रा मौन कोठाहरू तिमी छैनौ नि त शून्यतामा कति खोजूँ ? कतै छैनौ तिमी मुटुभित्र कति बाँधू ? (स्नेही इजा !, पृ. ३)
यस सङ्ग्रहमा रहेका मनाकाश, स्वाभिमान, पैँचो, शीतको थोपा, शङ्का, मन, चिन्तन र पानी जस्ता छोटा कवितामा मञ्जुला मज्जाले जमेकी छन् । समय, परिस्थिति र भोगाइ हरेक समकालीन कविका समान काव्यपाटा हुन् । मञ्जुला पनि यीभन्दा परको लोकमा पुगेकी छैनन् । यो स्वाभाविक हो, स्रष्टाले आफूले भोगेको या अनुभूत गरेको विषयमै कविताको बान्की तिखार्छ । डुबेकी छन् मञ्जुला आफूले भोगेको या अनुभूत गरेको विषयकै भावभूमिमा । तर, उनले यिनै पृष्ठभूमिमा जन्माएका ‘स्नेही इजा !’ जस्तै ‘बाचा तिमीलाई’ पनि यसलाई समर्थन गर्ने अर्को कविता हुन सक्छन् ।
सूर्य अस्ताएझैँ ओझेल बनिदियौ शान्त जीवनमा भुकम्पले तहसनहस परेझैँ भयो । मात्र बाइस वसन्तका खुसीयालीहरू लिएर आयौ । मेरी इजा अस्ताएकी आठ वर्ष बित्यो ओझेल बनेकी तिमीलाई क्षितिजतिरै खोजिबस्छु कमजोर यी नजरभरि तिम्रै तस्बिरहरू सजाएकी छु । (बाचा तिमीलाई, पृ. ५)
मञ्जुला मानवीय संवेदनाभन्दा पर पुगेर कविताको परिकल्पना पनि गर्दिनन् । फेरि कविता लेख्न बिम्व र प्रतीकहरूको खोजी पनि गर्दिनन् । मञ्जुलालाई के विश्वास भएको देखिन्छ भने प्रत्येक व्यक्तिसँग आ—आफ्नै भावना हुन्छन् र ती प्रत्येक व्यक्तिका भावनाका मूर्तरूपहरू पनि हुनसक्छन् । कतै कतै, कसै न कसैको जीवनमा घटिरहेका घटनाहरू नै मञ्जुलाका कविताका मूल भावभूमि हुन् । आफ्नो समाज, संस्कृति र समसामयिकताबाट टाढा कल्पनाको उडान भर्दिनन् आफ्नै परिवेशलाई भूल्दिनन् र भूलेकी पनि छैनन् । यही नै चेतनशील सर्जकको चिनारी पनि हो ।
गोर्खा पल्टन डिपो जलपहाड विशाल हुन् घूमको शान सिमानाका रक्षक वीर सपूतहरू तालिममा गर्छन् यहाँकै गुणगान बन्दै गजक्क । लुटुपुटु गर्छन् जलपहाडको अन्य सैनिक बल यहीँकै मायामा निर्धक्क । (कुहिरोभित्र घूम जोरबङ्लो, पृ. ८५)
पहाड प्रतिरोध, जीवन सङ्घर्षको र अटल आस्थाको प्रतीक हो । पहाडको प्रतीक भएर जीवन रहेको छ । नास्तिक अस्तित्ववादीहरू आफूभन्दा पूर्ववर्ती आदर्शवादीहरूझैँ मानवजीवन र जगत्लाई सार देख्दैनन् । यिनीहरू जीवन र जगत्लाई सारहीन र विसङ्गत देख्दछन् अनि मान्छेलाई आफ्नो अस्मिता रक्षा गर्न विसङ्गतिका विरुद्घ निरन्तर सङ्घर्षरत रहने मूलमन्त्र पनि दिन्छन् । यसरी नै कविलाई ऋतुचक्रहरू भोग्दै अस्तित्व खोज्नु छ मस्तिष्कबाट जसरी ज्वालामुखीले पनि अस्तित्व खोज्छ । पहिचान खोज्दछ । कवितामा वर्तमान विश्वमा परिचयहीन स्थिति भोगिरहेको कविको चेत छ ।
लेविसले भनेजस्तै सबै कविताहरूमा बिम्ब देखिन्छ । हरेक कविता आफैँमा पनि बिम्ब हो । प्रवृत्तिहरू त आउँछन्, जान्छन् । शैलीहरू पनि फेसनझैँ परिवर्तन हुन सक्छन् । थाहै नपाउने गरी तात्विक विषयवस्तु पनि परिवर्तन हुन सक्छ । तर रूपक भने कविताको जीवनसिद्घान्त बनेर कविको मुख्य कसी र गौरवका रूपमा रहन्छ । इजा अर्घ्य मा हेर्ने हो भने यो कसी मञ्जुलाको कसिलो गौरवका रूपमा रहेको पाइन्छ । मार्च १, १९३९ मा तीन महल्ला, बडा कागझोडा दार्जीलिङमा पिता स्व. जङ्गबीर थामी र स्व. माता माहिली थामीका पुत्ररत्नका रूपमा जन्मिएर मुलतः आख्यान, कविता र नाटकको क्षेत्रमा गुणात्मक किसिमले छवि बनाएका स्वाभिमानी कर्ण थामी पनि कवितामा बिम्ब बनेर आएकाछन् ।
धन्य हौ तिमी कर्ण न कुनै आवाज ध्रुव उदाँउदा न कुनै आवाज ध्रुव अस्ताउँदा एक चम्किला सितारा ध्रुवतारा उदाउँछन्, अस्ताउँछन् चुपचाप चुपचाप । (स्वाभिमानी कर्ण थामी, पृ. ६६)
कविता सिर्जना कर्मसँग सम्बन्धित अनेक विवेच्य विषयवस्तु छन् । कविता समय र समाजको साक्ष्य प्रसङ्ग र कविको वैयक्तिक अनुभूति पनि भएकाले कवितामा भयावह परिस्थितिको चित्र, अनिश्चित जीवन, द्वन्द्वको च्यापमा परेको निरीह देश, सङ्कटग्रस्त सपनाजस्ता विषष वस्तुलाई उभ्याएकी छिन् । कविले भोगेको समय, कविको सानिध्यमा रहेका मान्छे, कविका सपना आदि क्रियाप्रतिक्रियाहरू पनि कवितामा छन् । त्यसैले कवितामा कवि मञ्जुला जति वर्तमानप्रति संवेदनशील छिन्, जीवन र जगतप्रति उत्तिकै सचेत पनि छिन् ।
कवि मञ्जुलाका स्वभाव र संस्कारमा हुर्र्किएका कविताहरूमा वस्तुपरक चेतना नै बढी आएका पाइन्छन् । जेआर लोबेल लेख्छन्– ‘कविले पुर्खा र भावी सन्ततिसँग मेल राख्नु पर्छ ।’ मञ्जुलाका कविताले जेआर लोबेलको लेखनलाई पुष्टि गर्छ या गर्दैन भविष्यले बताउला । जोन मिल्टनले भने जस्तो कविता कम सूक्ष्म र सुकुमार भए पनि बढी सरल हुन्छ । मञ्जुलाका कविता सरलरेखा जस्तै छन् ।
कविताको उत्कृष्टताका लागि भावको प्रबलता अनिवार्य मानिन्छ । साहित्यका अन्य विधाबाट कवितालाई अलग्याउने एक गुण कवितामा हुने भावको प्रगाढता पनि हो । कविले आफैँ रुँदै र आफैँ हाँस्दै रचेको कविता बढी शक्तिशाली हुने गर्छ । मानव जीवन निर्माण र सिर्जनाका ममतामा सल्सली बगेका मञ्जुलाका कवितामा सरल स्वभाविक प्रकृतिको चित्रण छ, सौन्दयको वर्णन छ, भाव, भाषाको सन्तुलन पाइन्छ । प्रकृति, मानव, सुखदु:खलाई राम्ररी चित्रण गरिएका यिनका कवितामा अनेक अक्षरलाई खोतलखातल गर्दागर्दै पनि कताकता उपदेशात्मक स्वर र कर्मगति आउन खोजेको देखिन्छ ।
कमानको साइरन बज्छ साइँलीको जीवन तय हुन्छ । घुनको सहारामा टोकरी र छातासँग गीतको भाकामा चियाका मुनाहरू सुम्सुम्याउँदै भाग्य खोज्छन् साइँलीहरू । (चियाका तप्कनाहरू, पृ. ७६)
मञ्जुला कवितामा आक्रोशित र क्रुद्घ देखिनन् । निश्चय नै विचार आफैँमा कविता होइन तर विचार कथ्यको दार्शनिक सार हो । कलाको काम केवल मनोरञ्जन दिनु नभएर पाठकमा भावगत उदात्तता र विचारगत स्वस्थताको सौन्दर्यात्मक सम्प्रेषण गर्नु पनि हो । विचार वास्तवमा कविता वा अन्य कलाको दार्शनिक प्राण हो । यिनका कवितामा पनि विचार र नाराहरू भेटिन्छन् । जसभित्र समस्या नै समस्या व्याप्त छन् ।
चेतनालाई निषेध गर्ने र सत्यलाई समन तथा कैद गर्ने साहस कुनै पनि शक्तिसँग लामो समय रहन सक्दैन । चेतना र सत्यका हिमायतीहरू सदैव अटल र दृढ रहिरहन्छन् भन्ने विचारधारात्मक प्रतिबद्घता र वर्गीय पक्षधरतालाई कविताले मूर्त पारेका छन् । मञ्जुला प्रकृति विचारमा मात्रै घोत्लिने र भावनामा मात्रै डुबुल्की मार्ने कवि होइनन् ।
कहाँ खोज्छौ नारी सर्वव्यापी बनिसके । फूल फुलाउने हातहरूले जून–तारा समाइसके पृथ्वीलोकमा मात्र होइन साह्रा ब्रम्हाण्ड चुमिसके (नारी दिवस, पृ. ८९)
यसरी आर्दश र नैतिकताका नारालाई कवितात्मकरूप दिन्छन् । मञ्जुला ‘नारी दिवस’ का सन्दर्भमा प्रवेश गरेर राजनीति पनि गर्छिन् ।
साँच्चै समले भने जस्तै– ‘जस्तो शरीरदेखि आत्माको अस्तित्व रहँदैन त्यस्तै इतिहास, ज्ञानविज्ञान, दर्शन, वर्णन, गणित आदि शरीरदेखि कविता–आत्मा भिन्न रहन सक्तैन । केवल आँखा पनि कविता हुन् सक्तछ जब कवि त्यसलाई लिन्छ, अनि भावले खेलाउँछ, कसैले पनि नहेरिएको बादल कविले छुनासाथै कविता बन्दछ, कविता भावनाको बौद्घिक कोमलता हो ।’
कविताको क्राफ्ट कुँद्ने कर्तव्य कविहरूकै हो । कविताको कन्टेन्ट बुन्ने अग्राधिकार पनि कविहरूलाई नै छ । भाषा र क्राफ्टका सन्दर्भमा मञ्जुलाका कविता पढ्दा गाह्रो लाग्दैन । पाठक ‘तीन अघोषित युद्धहरू’ मा भएपनि ‘सातो हराएको दार्जीलिङ’ मा रहेपनि ‘जीवनले जीवन खोज्दै’ ‘कारावास’ समय पनि सजिलै काट्न सक्छ । ‘मनाकाश’ पनि सजिलै छुन सक्छन् र ‘वाचा तिमीलाई’ भन्दै ‘हाथरसकी मनिषा’ लाई म्वाइ खान पनि अप्ठ्यारो मान्दैनन् ।
यो विकल्पको युग हो । त्यसैले मञ्जुलाले अब सोच्नु हुन्न– ‘इजा अर्घ्य मन बहलाउने पिरामिड मात्र बनोस् ।’ मञ्जुलालाई यही बहानामा भन्नैपर्छ– आजभोलि पाठकहरू कविता छाड्दै किन भागिरहेका छन् ? कवितामा विविधता हुँदाहुँदै पनि भावका खुराक बजारको मिसावटबाट भने किन जोगिन सकेनन् ? समय र समाजसँगै कविता परिवर्तनको बाटो हुँदै यहाँसम्म आइपुगेको छ । चेतनाले समय र समाजअनुसारको नयाँ अन्तर्वस्तु र शैलीको माग गर्छ, आविस्कारको माग गर्छ । यस्तो बेला आविस्कारको सट्टा पुनरावृत्ति बढी देखिनु काव्यलेखनमा सङ्कटको सूचक हो ।
माटो समाएर रोएका मनहरू फूल फूलाउन काँप्दैछन् (चिन्तन, पृ. ८३) अनि रुमल्लिएर सिग्रेटका धुवाँहरू, अस्पष्ट शब्दहरू लालालस्कर बनेका (धुँवा, पृ. ५८) छन् । मायामा डुबुल्की लगाउँदा लगाउँदै भौतिक सुख र आनन्दहरू बटुल्दाबटुल्दै उजाड मरुभूमिमा आइपुगेकी छन् मञ्जुला (सुरज अनि तारा, पृ. ८०) । कहिले झरना बनी सतहतिर बजारिँदै, कहिले थोपा बनी बादलभित्र लुक्दै घरघोर बर्सिएका (पानी, पृ.८४) मञ्जुलाका कविताका प्रसङ्गहरू अर्कैअर्कै जस्ता लाग्छन् तर उस्तैउस्तै नै छन् ।
कवितामा कलापक्ष हराए पनि आम दार्जीलिङ्का नेपालीको जीवन र जिजीविषाभन्दा पर नरहेर, तिनका सपना र सङ्घर्षहरूलाई उपेक्षा नगरी त्यसैका बारेमा मात्र वर्णनात्मक कविता रचना गर्नै कविका रूपमा मञ्जुलालाई लिन सकिन्छ । यिनको आफ्नोपनको स्वाभिमान पनि यही हो झैँ लाग्छ । जसका कारण दार्जीलिङको नेपाली साहित्यको कविहरूका लस्करमा चेतनाका भिन्नरूप र रङ लिएर कवि मञ्जुला तामाङ सुब्बा इजा अर्घ्य मार्फत् उभिएकी छन् । स्वाभिमानका साथ उभिरहून । कवि मञ्जुलालाई कविता यात्रामा निरन्तरताको शुभकामना ।
(झापा)