काठमाडौं, ३ असोज
आज वर्षा र सहकालका देवता ईन्द्रको पूजा गरी ईन्द्रजात्रा धुमधामसँग मनाइँदै छ ।
यो पर्व प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरका साथै धुलीखेल, दोलखा लगायत नेवार समुदाय भएका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन वसन्तपुर दरवार परिसरमा इन्द्रध्वजासहितको लिङ्गो ठडाएपछि यो जात्रा सुरु हुन्छ । त्यसपछि आठदिनसम्म नाचगान, रथयात्रा र पूजाआजा गरी यो जात्रा मनाइन्छ ।
इन्द्रजात्राका लागि भक्तपुरको चितपोल जङ्गलबाट धार्मिक विधिद्वारा पूजा गरी ३२ हातको लिङ्गो भोटाहिटी हुँदै तलेजु हनुमानढोकामा ल्याउने प्रचलन रहिआएको छ । त्यहाँ ल्याएपछि काल भैरवको मूर्ति अगाडि तान्त्रिक विधिअनुसार विशेष पूजा गरी लिंगो ठड्याइन्छ ।
ईन्द्रध्वजासहितको लिङ्गो ठडाएपछि भक्कुनाच, महाकाली नाच, दशअवतार नाच, महाकाली नाच र पुलुकिसी नाच नचाइन्छ । यो पर्वमा काठमाडौंका विभिन्न ठाउँमा गणेश, भैरव र कुमारीको रथयात्रा गरिन्छ ।
आठौँ दिन ईन्द्रध्वजा पातन अर्थात लडाउने गरिन्छ । यसरी भाद्र शुक्ल द्वादशीका दिन सुरु भएको यो जात्रा आश्विन कृष्ण चतुर्दशीका दिन समापन गरिन्छ ।
यो जात्रा दशौं शताब्दीमा राजा गुणकामदेवले प्रचलनमा ल्याएको मानिन्छ । नेवारीमा यस पर्वलाई “येंयाः पुन्हि” भनिन्छ ।