युवाहरुको लाखौंको संख्यामा उर्लेको मानवसागर वादशाहको दरवार तर्फ बढ्दै गयो । मानव सभ्यताको प्रगतिको वाधक यही वादशाहको श्रीपेच हो भन्ने ठानेर युवाहरुले दरवारबाट वादशाहको श्रीपेच खोसेर बरामद गरे ।
“यसलाई टायर सँगसँगै सडकमा जलाई दिनु पर्छ ।” एकजना मझौला कदका मंगोलियन युवाले प्रस्ताव राखे ।
“यो धातुबाट बनेको हुँदा यो आगोबाट नष्ट हुँदैन त्यसैले जमिनमा गाड्नु पर्छ ।” अर्की जोसिली युवतिले आक्रोस पोखिन् ।
“यसलाई एसिडमा हालेर गलाउनु पर्छ ।” अर्का विज्ञानका विद्यार्थीले प्रस्ताव राखे ।
“हेर्नुहोस ! यसलाई अन्त गर्न गाह्रो छ यो अनन्त छ, भौतिक रुपमा अन्त गर्दैमा यो नष्ट हुँदैन भावना, प्रवृत्ति र संस्कारवाट अन्त गर्नुपर्छ ।” एकजना चिण्डे तालु भएको वौद्ध युवाले तर्क गरे ।
०००
युवाहरुको जमातमा मतमतान्तर मनग्गे भयो । कसैले टुक्राटुक्रा पारेर खोलामा मिल्काउने कुरा गरे । कतिले हिँउमा पुरिदिने प्रस्ताव राखे । अन्तमा एकमतले श्रीपेचलाई घोटेर सिध्याउने निश्चित झयो । टुक्रा टुक्रा पारेर घोट्न थालेपछि थाहा भयो श्रीपेचमा भएको कडा हिराहरुले गर्दा घोटेर सिध्याउन गाह्रो हुँदोरहेछ, बर्षौ लाग्दोरहेछ । अनि एक एक जनाले एक एक वटा टुक्रा श्रीपेचको आ–आफै व्यवस्थापन गर्ने निधो भयो । सबै युवाहरुलाई श्रीपेचका टुक्राहरु बाँडियो । साँझपख सबै युवाहरु एक एक टुक्रा श्रीपेच वोकेर घरतर्फ लागे ।
०००
विहान उठ्दा त्यही सानो टुक्रा श्रीपेच उज्यालो नभएको मौका छोपेर सिङ्गै श्रीपेचमा परिवर्तन भएर युवाहरुको हरेक अँध्यारो टाउकोमा चढ्यो र ढालिएको एउटा वादशाहको दरवारको ठाउँमा वस्तीमा ससाना दर्जनौ दरवारहरु खडा भए ।
(क्यानडा)