मलाई ठेस लागेको थियो
उस्ले लड्यो भनेर सम्झेछ
म लडेको थिएँ
उस्ले ढल्यो भनेर सम्झेछ
म ढलेको थिएँ
उस्ले मर्यो भनेर सम्झेछ।
मेरो बारेमा ऊ सधैं एक कदम माथी सोच्छ।
म उठ्दा
उस्ले हिँड्यो भन्दिन्छ
म हिँड्दा
उस्ले दगुर्यो भन्दिन्छ
म दगुर्दा
उस्ले माथि माथि उड्यो भन्दिन्छ।
मलाई जलाउन उस्ले पत्करहरू बटुली बस्छ।
उसको दुर्भाग्य यति हो कि
म कसिङ्गर सफा गरिरहन्छु
मलाई खसाउन उस्ले सधै
एक कदम अघाडी धकेलीदिन्छ मलाई
यसैले ऊ सधैं मेरो पछाडि कुदिरहेको हुन्छ।
धीरोद्धत उस्को मनलाई शान्ति छैन
उस्ले मेरो चरित्रमा दाग छ पनि भन्छ
मैले लगाएको टोपी मैलो देख्छ
उसको कमसल आँखाले।
उसको झोंक यति सम्म छ कि
मौका परे जुनको सुन्दरता नै खोसीदिऊँ र
आकाशलाई भुइँमा झारु भन्छ
उस्ले मैले टेकेको धर्ती खोसिदिऊँ भन्छ।
मैले सुनेको उस्को घरमा मेरो पाइला नपरोस रे !
म भने उस्को उपहास पर्खिरहेको हुन्छु
मेरो बदख्वाई नगरी उस्को खाना हजम हुँदैन म जान्दछु
यसैले मेरो शुभ खबरहरु उसको कानमा परिहालोस भन्छु।
उस्ले मलाई लुङ्गी लगाउन खोज्दा
म छाती थापिरहेको हुन्छु
ऊ मेरो प्रत्येक पाइलामा काँडा परोस भन्छ
ऊ मेरो शत्रु पनि होइन
मित्र पनि होइन
तर ऊ हो
मेरो एउटा
कामलाग्ने मान्छे ।
(कलकत्ता)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।