आकाशमा काला बादलका घेराहरू यत्रतत्र देखिंदै छन् अस्मिता र स्वतन्त्रतामाथि चट्याङ् पर्ने हुन् कि ! रमिता हेर्ने हेरेकै छन् सिर्जना गर्ने गरेकै छन् कुदृष्टिरुपी बादलका काला धब्बाले सन्त्रास बढाएकै छ, उकुसमुकुस वातावरणमा नेपाली जनताहरू छट्पटाइरहेका छन् । पानी परेर बाटोहरू थुनिएका छन्, घरहरूमा पानी पसेर जलमग्न भएकै छन् बाढी र पहिरोको उपद्रव कहालिलाग्दो छ खोला छेउका बस्तीहरू बाढीकटानमा परेका छन् रुवाबासी र बिचल्ली यत्रतत्र सर्वत्र छ । देशको कानुन र अस्मितामाथि बज्र प्रहारको सङ्केत काला धब्बाले गर्दै छन् अन्याय चुलिंदो छ दैवी विपत्तिको घन प्रहारले धन र जन संहारमा व्यग्र र व्यस्त छ वाक् स्वतन्त्रतालाई जेल हाल्न षड्यन्त्र र प्रपञ्च गरिंदै छ नेपालीलाई चारो हालेर पासोमा पार्ने दाउमा विदेशीहरू मन र तनमग्न छन् आफ्नै जातिलाई पासोमा पार्न विदेशीको हण्डी खाएर बसेकाहरू लागिरहेकै छन् । नेपाल र नेपालीलाई उपनिवेश बनाउन जन्मिएका कपुतहरू न्वारनदेखिको बल गरिरहेका छन् सपुतहरू प्रतिकार गरिरहेका छन् कपुतका हातमा बोलवाला र शासन छ कपुत र सपूत, न्याय र अन्याय,सत्य र असत्य बिचमा द्वन्द्व र लडाईं सुरू भएको छ आफ्नो अस्तित्व र पुर्खाको पौरख बचाउन र जोगाउन होमिने युवादेखि सबैसबैलाई रातो र तातो रगतको सलाम ! देशको एक चिम्टी माटो र अखण्डता बचाउन अघि सर्ने सचेत वर्गलाई सलाम !! देशका हिजडा र आमाको काख बेच्ने कपुतहरूलाई आँधीबेहरी सिर्जना गरी लखेटौं,चार डाँडा र भञ्ज्याङ कटाऔँ देश बेचिनबाट जोगाऔँ ! भ्रष्टाचारी र कुशासनका मतियारहरूलाई पाता कसेर कहिल्यै उठ्न नदिऔँ। सम्पूर्ण विकृति र विसङ्गति हटाउन लामबद्ध सपूतहरूलाई सलाम ! अस्मिता जोगाउन लागिपर्ने बौद्धिक वर्गलाई सलाम ! वाक् स्वतन्त्रता जोगाउन अघि सर्नेलाई सलाम ! कला, गला र कुची लिएर बढ्ने कलाकारलाई सलाम ! पुर्खाको रगतको बिंडो थाम्ने नौजवानलाई सलाम !! (सि. न. पा.-७, ओखल्ढुङ्गा)