आकाशमा काला बादलका घेराहरू
यत्रतत्र देखिंदै छन्
अस्मिता र स्वतन्त्रतामाथि
चट्याङ् पर्ने हुन् कि !
रमिता हेर्ने हेरेकै छन्
सिर्जना गर्ने गरेकै छन्
कुदृष्टिरुपी बादलका काला धब्बाले
सन्त्रास बढाएकै छ,
उकुसमुकुस वातावरणमा
नेपाली जनताहरू छट्पटाइरहेका छन् ।
पानी परेर बाटोहरू थुनिएका छन्,
घरहरूमा पानी पसेर जलमग्न भएकै छन्
बाढी र पहिरोको उपद्रव कहालिलाग्दो छ
खोला छेउका बस्तीहरू बाढीकटानमा परेका छन्
रुवाबासी र बिचल्ली यत्रतत्र सर्वत्र छ ।
देशको कानुन र अस्मितामाथि
बज्र प्रहारको सङ्केत काला धब्बाले गर्दै छन्
अन्याय चुलिंदो छ
दैवी विपत्तिको घन प्रहारले
धन र जन संहारमा व्यग्र र व्यस्त छ
वाक् स्वतन्त्रतालाई जेल हाल्न
षड्यन्त्र र प्रपञ्च गरिंदै छ
नेपालीलाई चारो हालेर
पासोमा पार्ने दाउमा विदेशीहरू मन र तनमग्न छन्
आफ्नै जातिलाई पासोमा पार्न विदेशीको
हण्डी खाएर बसेकाहरू लागिरहेकै छन् ।
नेपाल र नेपालीलाई उपनिवेश बनाउन
जन्मिएका कपुतहरू न्वारनदेखिको बल गरिरहेका छन्
सपुतहरू प्रतिकार गरिरहेका छन्
कपुतका हातमा बोलवाला र शासन छ
कपुत र सपूत, न्याय र अन्याय,सत्य र असत्य
बिचमा द्वन्द्व र लडाईं सुरू भएको छ
आफ्नो अस्तित्व र पुर्खाको पौरख
बचाउन र जोगाउन होमिने युवादेखि
सबैसबैलाई रातो र तातो रगतको सलाम !
देशको एक चिम्टी माटो र अखण्डता
बचाउन अघि सर्ने सचेत वर्गलाई सलाम !!
देशका हिजडा र आमाको काख बेच्ने
कपुतहरूलाई आँधीबेहरी सिर्जना गरी
लखेटौं,चार डाँडा र भञ्ज्याङ कटाऔँ
देश बेचिनबाट जोगाऔँ !
भ्रष्टाचारी र कुशासनका मतियारहरूलाई
पाता कसेर कहिल्यै उठ्न नदिऔँ।
सम्पूर्ण विकृति र विसङ्गति हटाउन
लामबद्ध सपूतहरूलाई सलाम !
अस्मिता जोगाउन
लागिपर्ने बौद्धिक वर्गलाई सलाम !
वाक् स्वतन्त्रता जोगाउन
अघि सर्नेलाई सलाम !
कला, गला र कुची लिएर
बढ्ने कलाकारलाई सलाम !
पुर्खाको रगतको बिंडो
थाम्ने नौजवानलाई सलाम !!
(सि. न. पा.-७, ओखल्ढुङ्गा)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।