झुण्डिएको एउटा गाँठोमा अमूकज्यूहरू
हातले समाएर झुण्डिएको देखिन्छ,
गाँठो आफ्नो पार्न सशक्त रणनीति प्रयोग हुन्छ,
समाउन नपाएर
सबैका हातले गाँठो निचोरिन पाउँदैन,
ठेलम्ठेल र पेलम्पेल चलिरहन्छ,
मुखारी खुस्किए पनि गन्धे सास फुस्किए पनि
यहाँ कोरोना सर्दैन ।
सजगता अपनाउनु
जनतालाई सुनाउने मुख मन्त्र हो,
प्रत्येकको नियत अतिक्रमण गरी
गाँठो अरूले नदेखी आफू खुस्काउने हो,
तर सबैले हात लगाउँदा र पालो नपाउँदा
गाँठो कसिएर ढुङ्गो बन्छ,
मौकाको पर्खाइमा यो डोरी बलोबाट खुस्काएर
कुनै भेडी गोठालाले फनफनी घुमाएर
अरु गोठालालाई दनक चखाउन
भएभरको सामर्थ्य प्रयोग गर्दै गरिन्छ ।
गोठाला धूर्त छन्,
गोठालादेखि गोठाला त्रसित छन्
आक्रामक छन्,
परस्पर डुबाउन
गहिरा खाडलहरू खनिन्छन्,
हठात् गाँठोमा सामर्थ्य थपिएर गति बढेको लाग्दछ,
अँ केही जना गोठाला भागेका हुन्छन्
भाग्दाभाग्दै जाक्न खनिएको खाडलमा
गर्लम्म झर्छन् ।
पानी पानीले भरिएको खाडलमा
अमूक भनाउँदाहरू
चुर्लुम्ब डुबेर निस्कन सक्दैनन्,
यतिखेर बल्ल अमूकहरूको
देश बनाउने दायित्व पछिल्लो चरणमा पुग्छ,
तर समापन कहिले हुँदैन,
कसिएको गाँठो देशभित्रका
जनताले समाउन मिल्दैन,
हो यसरी गाँठो कसैले फुकाउन सक्दैन ।
सीमा बाहिर झुम्रो गनाएको गन्ध चल्छ,
लखतरान् भएका केही अमूकहरू
आफ्नो थाङ्ने-गाँठो पर सारेर
सिमाना पारिकाले डढाएको दृश्य हेर्छन् ,
ज्या है ! गाँठो धुवाएर डढिरहन्छ अनि डढिरहन्छ ।
पवित्र नसोचेको स्वार्थन्ध गाँठो
साँच्चै थाङ्नो समान डढ्छ,
खरानी भएर उड्छ,
अब गाँठो सबै खुस्किन्छ,
यहाँ जोडिने मलम कतै पाइँदैन,
जम्मै खरानी हावाले उडाउँछ,
हावा नफिर्ने बाटोमा उडेर जान्छ,
हो स्वार्थको गाँठो खरानी पारेर
हावामा विलय गराइन्छ ,
अनि यो हावाबाट कार्बनडाइअक्साइड ग्यास निर्माण हुन्छ।
(इलाम)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।