उहिले उनीहरू
गाउँमा आउँथे
रगत सुकेर रोगाएको अनुहार
भित्र गाडिएका
अनौठोसँग चम्किने आँखा लिएर ।
भोक र रोगले पहेंलिएका उनीहरू
राता मान्छेका कुरा गर्थे
राता किताब पल्टाउँथे
र पढाउन सुरु गर्थे ।
उबेला राता किताबभित्र
मार्क्स, एङगेल्स, माओ र होचिमिन्हहरू थिए ।
अहिले उनीहरू
शहरमा देखिन्छन्
रातो कपाल
फुलेको शरीर
रगत भरिएका राता गालाहरू
चमकविहिन
लठ्ठिएका मादक आँखा
बिल्कुल बदलिएका
उनीहरू जस्ता नलाग्ने उनीहरू ।
अहिले पनि बेला बेला
किताबहरू पल्टाउँछन् उनीहरू
रातो गाता भएका किताबहरू
अहिले किताबभित्र
राम छन्, कृष्ण छन्
क्राइष्ट र मुहम्बदहरू छन् ।
उनीहरू बदलिएका छैनन्
उनीहरू त उनीहरू नै हुन
बदलिएको समय मात्र हो ।
उनीहरू त
पढाइरहेकै छन्
राता किताब ।।
(अरूण, भोजपुर)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।