उहिले उनीहरू गाउँमा आउँथे रगत सुकेर रोगाएको अनुहार भित्र गाडिएका अनौठोसँग चम्किने आँखा लिएर । भोक र रोगले पहेंलिएका उनीहरू राता मान्छेका कुरा गर्थे राता किताब पल्टाउँथे र पढाउन सुरु गर्थे । उबेला राता किताबभित्र मार्क्स, एङगेल्स, माओ र होचिमिन्हहरू थिए । अहिले उनीहरू शहरमा देखिन्छन् रातो कपाल फुलेको शरीर रगत भरिएका राता गालाहरू चमकविहिन लठ्ठिएका मादक आँखा बिल्कुल बदलिएका उनीहरू जस्ता नलाग्ने उनीहरू । अहिले पनि बेला बेला किताबहरू पल्टाउँछन् उनीहरू रातो गाता भएका किताबहरू अहिले किताबभित्र राम छन्, कृष्ण छन् क्राइष्ट र मुहम्बदहरू छन् । उनीहरू बदलिएका छैनन् उनीहरू त उनीहरू नै हुन बदलिएको समय मात्र हो । उनीहरू त पढाइरहेकै छन् राता किताब ।। (अरूण, भोजपुर)