नाचिरहेको छ हावा बाहिर
फर्फराइरहेको छ झ्यालको पर्दा,
भित्र मनमा ज्वारभाटा उठ्लाझैँ गरी
रहरहरु पछारेर लैजालाझैँ गरी
बेतोडले / बेजोडले चलिरहेको छ हावा ।
हावा चलेरै हो
मान्छेहरु चल्मलाइरहेका ?
यो सोच पनि त हावाजस्तै हो
नत्र एक्कासी कसरी आउँदो हो,
अनि नचाउँदो हो
हल्लाउँदो हो मान्छेको मथिङ्गल ?
कसरी वौरिदा हुन्
ती सास सकिन लागेकाहरु फेरि
कसरी सकिदा हुन्
श्वासप्रश्वासमा अभ्यस्तहरु ।
हावा खुस्किएजस्तै किन भएको छ
यो समय आजभोलि
किन भएको छ निर्मम
र नाच नाचिरहेको छ हाम्रो सभ्यतामाथि
प्रश्नवाचक भएर ?
पात हुनेहरु पनि
अनियन्त्रित हाँसिरहेका जस्ता
पातकी भएकाहरुको त
मगजमा अर्कै वाश्ना चलाउँदो हो हावाले
र व्यपार गराउँदो हो व्यभिचारको ।
प्राणवायु – हावा
अपानवायु – हावा
सोच अनि सोचको पराकाष्ठा पनि हावा
रोगी हावा – निरोगी हावा
विधि – प्रविधि सबै – सबै
यो संसार हावाबाट निर्देशित छ
कस्ले चलाइरहेको छ यो हावा ?
पख मलाई आँखा बन्द गर्न देऊ
म आफू भएको अनुभूति गर्न चाहान्छु ।
(मोरङ)