मस्तिष्क खनेर कागजका फुस्रा वियाडभरि यतिखेर, तिमी लाटा अक्षरहरूको बिउ छरिरहेछौ यतै-कतै एकहुल सुदामाहरू सारङ्गी रेटेर वर्षौदेखि गाइरहेछन् भोकको सवाई यस्तो लाग्छ यो धर्ती बाँझो राखेर खेतालाहरू निस्किएका छन् देशको मलामी र त्यही चिताको खरानी बटुलेर सत्ताका कालिगढहरू निरन्तर लेखिरहेछन् सनातन व्याकरण ! कोही त भनिदेऊ यी कुरानका गह्राहरूमा कति भकारी अन्न फल्छ होला ? यी वेदका आँटीहरूमा कति सिर्जनाका तानहरू बुनिन्छन् होला ? र यी बाइबलका खमारहरूमा कति सम्बृध्दीका दाइँहरू हालिन्छन् होला ? थाहा छैन मलाई कसले बनायो होला यो विश्वविद्यालयको अँध्यारो ओढार ? र युगौँदेखि चलिरहेछ श्रमचोरहरूको एउटा भयावह आतङ्क ! यतिखेर म, भुइँको अन्तिम किनारामा उभिएको छु म देखिरहेछु अक्षरको भारी बोकेर भेडी गोठाला बनेका प्रोफेसरहरू ! म भेटिरहेछु अक्षरको जनै लाएर मशानघाट धाइरहेका घाटे पण्डितहरू ! र म भोगिरहेछु अक्षरको शपथ खाएर लुटेरा बनेका यो धर्तीका शासकहरू ! अक्षरहरू कपटी हुन्छन् र त तमासुक बोकी उभिइरहन्छन् अक्षरहरू दास हुन्छन् र त पुस्तकभित्रै बन्दी बनाइन्छन् अक्षरहरू निर्जीव हुन्छन् र त विचारशून्य पाटीहरूमा टाँसिन्छन् अक्षरहरू व्याभिचारी हुन्छन् र त मन्दिरका ढोकामा मैथुन गरिरहन्छन् सायद, अक्षरहरू कुसुले हुन् जो आदेश अनुसार नै नाचिरहन्छन् । माटो त उही हो तर कुमालेको हात अनुसार फरक-फरक आकृतिका भाँडाहरू बन्छन् अक्षरहरू आगो बनेर वनडढेलो सल्किन पनि सक्छन् अक्षरहरू विचार बनेर समरको भिरैभिर दौडिन पनि सक्छन् र अक्षरहरू तेजाव बनेर समयको अनुहारभरि पोखिन पनि सक्छन् । कुन बाटो गए होलान् मुक्तिको गीत गाउने विद्रोही खुट्टाहरू जसका डोवहरू टेकेर अक्षरहरू बिउ बनेर उम्रिन सकून् किन गुमनाम भए होलान् प्रेमको धुन गुनगुनाउने आवाजहरू जसका मूर्छना सुनेर अक्षरहरू पनि ब्युँझेर उठ्न सकून् कहाँ गए होलान् यतिखेर असली कालिगढहरू जसका स्पर्शले अक्षरहरू बारुद बन्न सकुन् । अक्षरहरू छन् र त सत्ताको भाषा छ अक्षरहरू छन् र त विद्रोहको ऎलान छ अक्षरहरू छन् र त अन्धो तराजुमा ओजन छ अक्षरहरू छन् र त वलिदानका गीतहरू लेखिन्छन् अक्षरहरू छन् र त सम्राटहरूको अनुहार छोपिएको छ अक्षरहरू छन् र त क्रान्तिका सपनाहरू जीवित नै छन् । क्या गजव छ यो अक्षरको खेती पनि ! त्यही बिउ रोप्यो शासकका बारीमा श्रीखण्ड उम्रिन्छ र त्यही बिउ रोप्यो जनताका टारीमा खुर्पाको बीँड उम्रिन्छ । (झापा)