फूल नउठेको,
भर्खर फक्रिन आँटेर
पत्र निस्किन फुट्नै आँटेको
लार्भाभन्दा अलि पाको, प्युपा
गुलाबै त नभनौं
गुलावको तरेली
हो मलाई गुलावको त्यही तरेली मन पर्छ ।
फुलिसकेपछि त्यो मेरो हुन्न
मालीको हुँदै हुन्न
भ्यालेन्टाइनको रोज डे
या भनौं
प्लस टू को प्रपोज डे
अरु नै कोही हुन्छ अख्तियार
बीउ रोप्नेलाई, बारी गोड्नेलाई फूल फुल्ने अधिकार हुन्न
त्यसैले मलाई बिरुडा मन पर्छ ।
बिकासे मकै तुरुक्क दाल भुटुन चुहाएर
डमरु बजाउँदै थैलीमा बेचिएका
कराहीभरि उठाइएका फुला मकै
मलाई मन पर्दैन
न स्वाद न रंग
चपाउन्जेलको चपचप
फुस्स मुख ठुस्स पेट ।
साउनको झरीले नभेटेको
थाक्राबाट आलो झिकेर
आमाले हाडीमा फुटेको
रातो कालो, आगोले पाकेको
ठेट्ना मकै मेरो प्रिय खाजा
न अहिलेको चाउचाउ
न चाउमिनको खाऊँ खाऊँ ।
जति ब्रस नगरे पनि
आफ्नो मुख आफैलाई नगन्हाउँदो रैँछ
नत्र त नेपालका नेताहरु
मुख बार्ने थिए होलान्
हाम्रा पनि फूल फुल्ने थिए होलान् ।
त्यसैले, नपाउनुको चिन्ताले पार पाउनुभन्दा
मलाई जे छ त्यही मन पर्छ
मलाई ठेला मन पर्छ ।
(धनगढी, कैलाली)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।