आमाको उध्रिएको चोली बाबाको फाटेको टोपी सिउन आफ्नै रहर र जवानी बन्दकी राखेर बिहानीको मिर्मिरे किरणसँगै प्रवासिएको म बासेको थिएन भाले तन्द्रा मै उठेथ्यो छोरो र भनेथ्यो बाबा ! धेरै पैसा कमाएर आउनुस् है । म पैसा फल्ने सहरमा अनेकन सपनाका गगनचुम्बी महलहरु बनाउँदै स्वाधीनतालाई जमानी राखेर परतन्त्रता र दासत्वसँग सम्झौता गर्दै थिएँ कैयौ सम्झौताका डायरीहरु भरिएका थिए सन्तानको लागि खुसी किन्न पैसा सङ्ग उमेर साट्दा । हातमा उठेका ठेलाहरु हेरेर कैयौ पटक बिरक्तिएर मुर्छित मुटुलाई तिम्रा हजारौं यादका शृङ्खलाहरुले बिर्सन बाध्य पारेका थिए तब सबैतिर बन्द गरेर यादका ढोका म ठिक छु सानू ! भन्न बिवस थिएँ । मसँग केवल थिए रित्तो सम्भावनाका बिटाहरु अपुरो रहर,चाहाना अनि अभाव नै अभावका छिटाहरु हातमा सिर्फ बोर्डिङ पास,टिकट अनि अपुरो सपनाका थुप्रै थुप्रै चाङहरु ! (मान्द्रे, भोजपुर)