मेरो देश एक महाआख्यान थियो विभिन्न जाति–समुदाय स–साना आख्यानसरह थिए तर अचानक संसदभवनको बार्दलीमा जे.एफ. ल्योटार्डको भूत प्रकट भयो र महाआख्यानको अन्त्य घोषणा गरिदियो र हाम्रो महाआख्यान रातारात विनिर्माण भयो । हामी विभक्त भयौं खण्ड–खण्डमा जातिगत भाषागत क्षेत्रगत सम्प्रदायगत र खोज्न थाल्यौं आ–आफ्नो अस्तित्व इतिहासको कालखण्डमा राष्ट्र र राष्ट्रियताको कोल्टे संविधानमा । तर न त ल्योटार्ड आए र भने– तिमीहरु एउटा आख्यान भयौ न त नित्से आए र भने– तिमीहरुको भाग्य लेख्ने ईश्वरको मृत्यु भयो अब आफ्नो भाग्य आफै निर्धारण गर रोलाँ बार्थले त अग्रिम घोषणा गरिदिए लेखकको मृत्यु भइसक्यो, अब हाम्रो कथा–व्यथा कसले लेख्छ ? हामी टुहुरा भयौं बीच सडकको टुहुरा न हाम्रो गुहार छिमेकीले सुन्यो न कुनै फेहरिस्त समुद्रापारिबाट आयो विनिर्मित र विक्षिप्त हाम्रो अस्तित्व उग्रराष्रट्रवादको पहिरोमा गुमनाम भयो । अब हाम्रो कामना यत्ति हो इतिहासमा फ्रान्सेली म्यग्नेट लाइन टुटेसरह अब हाम्रो देशको विभेदपूर्ण म्यग्नेट लाइन टुट्नुपर्छ राइन नदी तरेर आउने जर्मन सेनाझैं स्वतन्त्रता र समानताको आलोक छिर्नुपर्छ यहाँ कुनै अस्तित्ववादी धोबिनी जन्मने छैन हामीबाट जर्मनसँग एकलै लडेझैं स्वतन्त्रता विरुद्ध लड्नलाई बरु हाम्रो अस्तित्वको धोबिनीले स्वतन्त्रता र समानताको स्वागत गीत गाउनेछन् र उग्रराष्ट्रवाद र कोल्टे संविधानविरुद्ध धावा बोल्नेछन् । ईष्वरको मृत्युसँगै र महाआख्यानको अन्त्यसँगै नित्से र ल्योटार्ड पनि मरिसकेका छन् भने अब हामीले हाम्रो आख्यान आफै लेख्ने अठोट गर्नुपर्छ समतामूलक महाआख्यानको पहाड आफै चुलाउनु पर्छ र निर्बल–निमुखाहरुको एउटा अजायबघर बनाएर खण्ड–खण्ड विभक्त आख्यान समेटी भुइँमान्छेहरुको एउटा सुन्दर महाआख्यान आफै लेख्नुपर्छ ।। (भूटान)