मेरो देश
एक महाआख्यान थियो
विभिन्न जाति–समुदाय
स–साना आख्यानसरह थिए
तर अचानक संसदभवनको बार्दलीमा
जे.एफ. ल्योटार्डको भूत प्रकट भयो
र महाआख्यानको अन्त्य घोषणा गरिदियो
र हाम्रो महाआख्यान
रातारात विनिर्माण भयो ।
हामी विभक्त भयौं खण्ड–खण्डमा
जातिगत
भाषागत
क्षेत्रगत
सम्प्रदायगत
र खोज्न थाल्यौं आ–आफ्नो अस्तित्व
इतिहासको कालखण्डमा
राष्ट्र र राष्ट्रियताको कोल्टे संविधानमा ।
तर न त ल्योटार्ड आए
र भने– तिमीहरु एउटा आख्यान भयौ
न त नित्से आए र भने–
तिमीहरुको भाग्य लेख्ने ईश्वरको मृत्यु भयो
अब आफ्नो भाग्य आफै निर्धारण गर
रोलाँ बार्थले त अग्रिम घोषणा गरिदिए
लेखकको मृत्यु भइसक्यो,
अब हाम्रो कथा–व्यथा कसले लेख्छ ?
हामी टुहुरा भयौं
बीच सडकको टुहुरा
न हाम्रो गुहार छिमेकीले सुन्यो
न कुनै फेहरिस्त समुद्रापारिबाट आयो
विनिर्मित र विक्षिप्त हाम्रो अस्तित्व
उग्रराष्रट्रवादको पहिरोमा गुमनाम भयो ।
अब हाम्रो कामना यत्ति हो
इतिहासमा फ्रान्सेली म्यग्नेट लाइन टुटेसरह
अब हाम्रो देशको विभेदपूर्ण म्यग्नेट लाइन टुट्नुपर्छ
राइन नदी तरेर आउने जर्मन सेनाझैं
स्वतन्त्रता र समानताको आलोक छिर्नुपर्छ
यहाँ कुनै अस्तित्ववादी धोबिनी जन्मने छैन हामीबाट
जर्मनसँग एकलै लडेझैं स्वतन्त्रता विरुद्ध लड्नलाई
बरु हाम्रो अस्तित्वको धोबिनीले
स्वतन्त्रता र समानताको स्वागत गीत गाउनेछन्
र उग्रराष्ट्रवाद र कोल्टे संविधानविरुद्ध धावा बोल्नेछन् ।
ईष्वरको मृत्युसँगै
र महाआख्यानको अन्त्यसँगै
नित्से र ल्योटार्ड पनि मरिसकेका छन् भने
अब हामीले हाम्रो आख्यान आफै लेख्ने अठोट गर्नुपर्छ
समतामूलक महाआख्यानको पहाड आफै चुलाउनु पर्छ
र निर्बल–निमुखाहरुको एउटा अजायबघर बनाएर
खण्ड–खण्ड विभक्त आख्यान समेटी
भुइँमान्छेहरुको एउटा सुन्दर महाआख्यान आफै लेख्नुपर्छ ।।
(भूटान)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।