तिमी यहीँ हुँदा त
नाफिनीका काडाँहरुको पनि काम आउथ्यो
किनकि भाउजुहरु कान छेड्न आउनुहुन्थ्यो
नन्दहरु नाक छेड्न आउथे
तर तिमी बसाइँ सरेपछि त
बगैंचाका मौरीहरु पनि बसाइँ सरे
फुलहरुपनि ओइलिएर मरे ।
तिमी बसाइँ सरेपछि त
हाम्रा वडा अध्यक्षहरुले
तिम्रो गाउँ जाने बाटोमा
सडक पुन्रनिर्माणका बजेटहरु कटौती गर्नथाले
फलस्वरुप तिमी मलाई भेट्न आउने बाटो
मेरो मुटुजस्तै कटकटिएर खियाँ लागेजस्तो भएको छ ।
तिम्रो जुठेल्नो नजिकै उम्रने
ती दुधालु सालिम्बो पनि
तिमीले घर छाडेपछि त
सुकेर कामै नलाग्ने बूढो खरुकी जस्तै भएछ ।
हाम्रा गाउँका नाइटे खोलामा
भएका डुम्रे र काली दहमा
रेडी एक दुई तीन भनेर
एकैचोटी पिसाब फेरेपछि
तिमी र म खुब पौडी खेल्थ्यौ
तिमीले हाम्रा खोलापाखा छाडेर गएपछि
ती डुम्रे दह र कालीदहहरु
डाइनोसर जस्तै लोप भएर
बालुवा थुप्रेर बनेको चिहानजस्तै भएछन् ।
रातैभरि, दिनैभरि गीत गाउँदै
त्यो पल्लो वस्तीको
सिरान डाँडाबाट बग्ने झर्ना पनि
तिमी नुहाउन जान छाडेपछि त
वेदनाले चिरिएको मेरो छातीजस्तै
हर्टएटेक भएर बन्द भएका रक्तनली जत्तिकै
असक्त र विरक्तिएका देखिदाँ रहेछन् ।
तिमीलाई हेरेर कुर्लेजस्तै कुर्लिने
तामेढुकुरहरु
तिमी बसाइँ सरेपछि
कसैको पनि आँगनमा विस्कुन छर्न आएका छैनन् रे !
साँझमा भ्यागुता र झ्याउँकिरीहरु चिरबिराँउदा
तिमीलाई देखेर खुसी भएका होलान् जस्तो लाग्थ्यो
तिमीले घरको मुलढोकामा भोटेताल्चा लाएर हिडेंदेखि त
कान टालिएर
नारायण गोपालको आवाज पनि कर्कश लाग्न थाल्यो
तिम्रो वर्णन नभएको कथा जस्तो ।
तिम्रो घरको सीधा माथिको आकाश
आजकाल जतिबेलै हेर्दापनि
धुम्मिएर गजधम्म परिरहेजस्तो देख्छु
यस्तो लाग्छ यता
तिमीविना सारा गाउँ निस्ताएर झोक्राएको छ
र उता पनि तिमीलाई
गाउँको यादले कट्कटी ज्यान खाएको छ
समग्रमा तिम्रो बसाइँसराईले सबै विरानो बनाएको छ ।।
(पाख्रिबास, धनकुटा)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।