कविता पढ्दै हुनुहुन्छ एक्लै बसेर त्यसैले तपाईं मेरा प्रिय पाठक अर्थ खोतल्ने तिर पटक्कै नजानुहोस् अर्थले ध्वस्त पार्दछ कविताको निर्माण । किनकि कविताले छेक्न सक्दैन भूँडीको हाहाकार सुकेका पातहरूमा पानीका थोपाहरू उमार्न सक्दैन काँढा भित्रको गुलाबको छवि कुनै विधवाको रित्तो सिउँदोमा सिउरेर । मेरा अनुरागी पाठकहरु कविता पढेर तपाई मक्ख नपर्नुहोला कविताले बोक्न सक्दैन कुनै गरीबको पीडा अथवा गर्भवती नारीको प्रसववेदना कुमारी मनको धोको, बेकार युवकको अन्तरद्वन्द्व बृद्धाश्रममा बसेका निस्तेज आँखाका सदिच्छा । प्रिय संवेदनशील पाठकहरु कविताले बाल्दैन चिसो चुल्होमा आगो बाढीले डुबाएका खेतबारीहरू नदीले बगाएका गोठका गाईगोरुहरू अनाहारले मरेका मृतकहरूको सम्झनामा आँसु चुहाउँदैन कुनै पनि हरफले । तर पनि तपाईं कविता पढ्दै हुनुहुन्छ शब्द र अर्थलाई टुक्रा टुक्रा पारेर कतै पाइन्छ कि जीवनको संवेदी स्रोत धारा र वादमा झुक्किने प्रतिक्रिया जसले चुहाउँछ कविताको आङबाट रगत । मेरा प्रिय पाठकहरु सबै हरफहरू स्वादिला हुँदैनन् मात्र एउटा शब्द राखिदिनुहोस् मुटुभित्र जसले तातो पार्नेछ हृदयको चिसो हिउँ । कविता निर्माणको चेतनामा हत्या गरिदिने छु मेरा समग्र आवेग अनि प्रतिबिम्बित हुनेछ चोक्टा चोक्टा भएर तपाईंहरूको आँखाका सेता पृष्ठाहरूमा । (तेजपुर, असाम)