परदेश लाग्नु पनि युद्दको मैदानमा जानु जत्तिक्कै रहेछ कष्टकर फरक यत्ति हो युद्दमा हातहतियार,गोलीगट्ठा,खरखजना र सहयोद्दाहरुको साथ हुन्छ परदेशमा खाली आफ्नो कर्म,भाग्य,हातपाखुरा र भगवानको भर हुन्छ तर यी दुवै रहर नभएर कहर रहेछन् परदेश र युद्द । परदेशीहरु घर छोडेपछि परदेशी हुन्छन् घरदेशले परदेश जान बाध्य बनाएपछि परदेशी हुन्छन् परदेशिनु भनेको धन कमाउनु मात्र पनि होइन रहेछ मन बहलाउनु र ज्यान बचाउनु पनि पो रहेछ घर झगडा भएपछि मान्छे परदेश पस्छ घर अशान्त भएपछि मान्छे मुग्लान भासिन्छ घरमा दुई छाकको जोहो नभएपछि भोक मार्ने ओखती खोज्न मान्छे घर बाहिर निस्कन्छ घरमा अनिकाल लागेपछि सहकालको खोजमेलमा मान्छे घर छोडेर हिंड्छ घर भन्नु अथवा घरदेश भन्नु नै त देश रहेछ । घरमा- घरमूलीहरु नै अभक्ष्य सेवन गरेर धतुराउन थालेपछि साखा-सन्तानहरुले गती नछाडेर कुन इलम गरुन् ? कि बिग्रिन्छन् तिनीहरु छाडा भएर त्यही घर-समाजभित्र मानसिक अपाङ्गता र बैचारिक दुर्ब्यशनीमा कि बहकिन्छन् बिरक्तिएर अनकन्टार शून्यताभित्र ठेगाना बिहिन परदेशमा कता-कता । घरदेश, आफ्नै आङको मासु 'पिलो' बनेर टनटनाउँदै भतभती पोल्न थालेपछि घरदेशी तन्नेरीहरू घर छोडेर हिंड्दारहेछन् प र दे श... स्वाभिमानका पखेराहरु जब कित्ताकाट हुन्छन् खुशीका उतुङ्गहरुको बलजफ्ती इस्तिफा बुझाएर उदरपूर्तिको मेलोमेसोमा हुईँकिन्छन् जीवन संघर्षको अगम पहाड भत्काउन घरदेशबाट - प... र को देश... .। घरदेशदेखी, प.......... र... परदेश परदेशदेखि पनि फेरी, प....... र ... घरदेश जताबाट हेर्यो दुबै प....... र देखिन्छन् घरदेश र परदेश त देशै अलग-अलग हुन् अब त घरभित्रै "प्रदेश" र बलेसीमै “परदेश“ भेटिन थालेको छ । घरदेश छोडेर परदेश लाग्ने अघिल्लो रात सिलिङमा झुण्डिएको रिनको जाँतोसँग तर्सेर भित्ते घडीको टिक् टिक् देखि डराउँछन् मनहरु सातो हराएको नानी जस्तो छेस्किनी बिनाका उदाङ्गा भाग्यका जस्केलाहरु र गजबाररहित खुल्ला कर्मका दैलाहरुबाट फुत्त निस्केर दाँया घरदेश र बाँया परदेश ताक्छन् भोक बिरुद्दको लडाइँ लड्ने योद्दाहरु झिसमिसेका पँधेर्नीहरुलाई पत्तै हुन्न कठै, सोधिपठाउँछन् युद्दमा हिंडेका सिपाहीहरुलाई "कहिले फर्केर आउने" भनेर । (भोजपुर हाल सेसेल्स)