कविता पढ्दै हुनुहुन्छ एक्लै बसेर
त्यसैले तपाईं मेरा प्रिय पाठक
अर्थ खोतल्ने तिर पटक्कै नजानुहोस्
अर्थले ध्वस्त पार्दछ कविताको निर्माण ।
किनकि कविताले छेक्न सक्दैन भूँडीको हाहाकार
सुकेका पातहरूमा पानीका थोपाहरू
उमार्न सक्दैन काँढा भित्रको गुलाबको छवि
कुनै विधवाको रित्तो सिउँदोमा सिउरेर ।
मेरा अनुरागी पाठकहरु
कविता पढेर तपाई मक्ख नपर्नुहोला
कविताले बोक्न सक्दैन कुनै गरीबको पीडा
अथवा गर्भवती नारीको प्रसववेदना
कुमारी मनको धोको, बेकार युवकको अन्तरद्वन्द्व
बृद्धाश्रममा बसेका निस्तेज आँखाका सदिच्छा ।
प्रिय संवेदनशील पाठकहरु
कविताले बाल्दैन चिसो चुल्होमा आगो
बाढीले डुबाएका खेतबारीहरू
नदीले बगाएका गोठका गाईगोरुहरू
अनाहारले मरेका मृतकहरूको सम्झनामा
आँसु चुहाउँदैन कुनै पनि हरफले ।
तर पनि तपाईं कविता पढ्दै हुनुहुन्छ
शब्द र अर्थलाई टुक्रा टुक्रा पारेर
कतै पाइन्छ कि जीवनको संवेदी स्रोत
धारा र वादमा झुक्किने प्रतिक्रिया
जसले चुहाउँछ कविताको आङबाट रगत ।
मेरा प्रिय पाठकहरु
सबै हरफहरू स्वादिला हुँदैनन्
मात्र एउटा शब्द राखिदिनुहोस् मुटुभित्र
जसले तातो पार्नेछ हृदयको चिसो हिउँ ।
कविता निर्माणको चेतनामा
हत्या गरिदिने छु मेरा समग्र आवेग
अनि प्रतिबिम्बित हुनेछ चोक्टा चोक्टा भएर
तपाईंहरूको आँखाका सेता पृष्ठाहरूमा ।
(तेजपुर, असाम)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।