१९ साउन २०७८, भोजपुर ।
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा असार ९ गते आयोजित राष्ट्रिय कविता महोत्सवमा ‘देशको नक्सा’ शीर्षकको कवितामार्फत् प्रथम हुन सफल कवि कविता राई गृहगाउँमा सम्मानित हुनुभएको छ । राज्यकै सर्वोच्च प्राज्ञिक संस्थाद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा प्रथम भई वडा, पालिका र समग्र जिल्लाकै गौरव बढाएबापत टेम्केमैयु गाउँपालिका वडा नं. ९ कार्यालयले कवि राईलाई सोमबार एक समारोह आयोजना गरी सम्मान गरेको हो ।
कार्यक्रममा वडाध्यक्ष गणेशकुमार राईले कवि राईलाई फूलमाला, अविर टीका, दोसल्ला र सम्मानपत्र अर्पण गरी सम्मानित गर्नुभएको थियो । सो अवसरमा वडा सदस्यहरू इन्दिरा राई घिमिरे, जितेन्द्र तिम्सिना, शिवराज दंगाल, दिलकुमारी दर्जी लगायतले कवि राईलाई खादा ओढाई सम्मान प्रकट गर्नुभएको थियो ।
यसै गरी उक्त अवसरमा वडाका कर्मचारीहरू राजु पराजुली, ईश्वर दंगाल, सुवास लुईटेल लगायतले कवि राईलाई खादा ओढाएर बधाई तथा सम्मान व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कवि राईका आफन्तजन तथा वडाबासीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कविता राई यसअघि विभिन्न सङ्घसंस्थाबाट सम्मानित भइसक्नुभएको छ ।