वर्षौंदेखि मिहेनत गर्दै आएका,
मेरा बा का खुट्टा चिराचिरा परेर फाटेका छ्न ।
आज तपाईं एउटाले छोड्दा दिल फाट्यो भन्नु हुन्छ,
मेरा बा ले मेरा निम्ति सवै छोड्दा पनि,
उहाँका हात फाटे, खुट्टा फाटे तर
दिल फाटेन् किनकि त्यो दिल म थिए ।
बा मलाई माफ गर्नुहोला,
आज तपाईंको दिल चिरा चिरा परेको छ,
हरेक चिरा प्रत्येक सपनामा परिणत हुँदा,
च्यातिएको कागज र फुटेको सिसाझैँ छु म ।
बा मलाई माफ गर्नुहोला,
तपाईंको सपना म अनि मेरो सपना अर्कै भइदिँदा,
कतै तपाईंप्रति घात त गरिनँ मैले..?
म सानो छँदा मेरा हरेक गल्ती माफ गर्नुहुन्थ्यो,
आज यो गल्ती माफ गर्नुहुन्छ कि नाई..?
बा मलाई माफ गर्नुहोला,
मेरा निम्ति तपाईंले हरेक रात नसुती,
न भोक न तिर्खा न प्यास,
केही नभनी खुब मिहेनत गर्नु भयो,तर
म तपाईं को निम्ति मिहेनत गर्न असमर्थ हुँदै छु ।
बिहानको घाम नझुल्केसम्म निद्रा खुल्दैन,
टन्न नखाई पेट भरिदैन, भोकै पेट बस्न सकिन्न
बा मैले तपाईं ले जस्तो मिहेनत गर्न सकिनँ
बा मलाई माफ गर्नुहोला,
तपाईंले हजुरबासँग चिठ्ठी पठाई कुरा गर्नु हुन्थ्यो रे,
चिठ्ठी पाउन महिनौँ लाग्ने समयमा पनि,
एकै महिनामा चार पाँच चिठ्ठी पठाउनु हुन्थ्यो रे,
तर आज हात हातमा फोन हुँदा पनि
तपाईंलाई प्रत्यक दिन सम्झिन सकिनँ,
बा मलाई माफ गर्नुहोला ।
हिजो आफ्नो ज्यानको पर्वाह नगरी,
ज्यान दिने सहिदले माफ गर्लान् कि नाई बाबा मलाई,
मैले मेरो देशको सिमाना मिचिदा पनि बोल्न सकेन,
विदेशी सत्रुले देश हत्याउन खोज्दा पनि म मौन छु
बा, हिजो तपाईंले राजा चाहिँदैन भनेर,
ठूलो संघर्ष गर्नु भयो, आन्दोलन गर्नु भयो, रगत बगाउनु भयो,
आज मेरो पुस्ता फेरि त्यही राजा खोज्दै छन्,
बा के हामी माफी गर्न लाएकका छौं र..?
बा हिजोको दिनमा तपाईं आफ्नो छोरी ल्याउन,
आफै बिहानको झिसमिसेमा उठेर जानु हुन्थ्यो, तर
आज मेरा साथीहरु आफ्नो छोरीलाई काखमा बोकेर
बिहानको झिसमिसेमै सिमाना काटेर बेच्न लग्दैछन्,
तपाईंले आफ्नो छोरीको कति ख्याल राख्नु हुन्थ्यो है,
तर बा आजकलका मानिसहरू किन दानवजस्तै भएका हुन्,
आफ्नै छोरीलाई करणी गर्दै छन्,
बा के यिनीहरू माफी योग्य छन्..?
बा तपाईंलेले देशको निम्ति धेरै गर्नु भयो
तर मैले,
अहिले सम्म केही गर्न सकिनँ,
हेरिरहेको छु भ्रष्टाचारको अत्याचारलाई,
बस खुब सुन्दै छु अन्याय अत्याचार बढ्यो भनेर,
हामीलाई न्याय चाहियो भनेर धेरै कराउँदै छ्न,
तर म कानमा तेल हालेर बसेको छू बा,
के मलाई माफ गर्नुहुन्छ बा...?
(धनगढी)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।