२०७८ साउन १९ गते, काठमाडौँ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ‘समकालीन नेपाली कवितामा समावेशीकरण’ नामक पुस्तक प्रकाशित भएको छ । पुस्तक साहित्य (पद्य÷काव्य) विभागको अनुसन्धान परियोजनाअन्तर्गत डा. बिन्दु शर्माले तयार पार्नुभएको हो । जम्मा चार परिच्छेदमा लेखकले विषय–विचारलाई पुस्तकमा प्रस्तुत गर्नुभएको छ ।
विभागीय प्रमुख प्रा.डा. हेमनाथ पौडेलका अनुसार समावेशीकरण लोकतन्त्रको महत्त्वपूर्ण पक्ष मानिन्छ । यसै सत्यलाई आत्मसात गरी तयार पारिएको यस पुस्तकको पहिलो परिच्छेदमा समावेशीकरणको सैद्धान्तिक आधार र पृष्ठभूमि, दोस्रो परिच्छेदमा समकालीन नेपाली कवितामा राजनीतिक, आर्थिक र प्रादेशिक समावेशीकरण, तेस्रो परिच्छेदमा समकालीन नेपाली कवितामा सामाजिक र सांस्कृतिक समावेशीकरण र चौथो परिच्छेदमा तिनको समग्र निष्कर्ष दिइएको छ ।
पुस्तक लेखक डा. शर्माले लेखकीय भूमिकामा लेख्नुभएको छ— “समकालीन नेपाली कवितामा सामाजिक, राजनीतिक, जातीय, आर्थिक, लैङ्गिक, क्षेत्रीय आदि मुद्दाहरू सशक्त रूपमा उठिरहेका छन् ।यसते अवस्थामा राज्यका विभिन्न अङ्गहरूबाट तिनलाई समुचित सम्बोधन गराउन पनि काव्यिक समावेशीकरणको भूमिका र योगदान महत्त्वपूर्ण रहन्छ ।”
१७२ पृष्ठका पुस्तकको मूल्य रु. २२० रहेको छ ।