धेरै वर्ष पहिले
पहाडलाई छाडिगएको एउटा नदी
वर्षात बनी फर्किआएको छ आज
सम्बन्धलाई अविलम्ब नवीकरण गर्दै
भिजाएको छ पहाडलाई निथ्रुक्क ।
अब पहाडमा
हरियाली छाउनेछ र बशन्त आउनेछ
फुल्नेछन् फुलहरु र भुल्नेछन् भुलहरु
पहाडको काखमा लुटपुटिएर नदीले
बिसाउनेछ वर्षौको थकान
छातीको भित्री भागसम्म भिजेर पहाडले
मेटाउनेछ वर्षौको प्यास
यही खुसीयालीमा
नाच्नेछ नदी छहराहरुमा
गाउनेछ गीत झरनाहरुमा
हाँस्नेछ पहाड छाँगाहरुमा
बस्नेछ प्रीत पहराहरुमा ।
मानौं भरखर कलेजमा भेट भएका
नव यौवनाहरु जस्तै
अलिकती उमङ्ग, अलिकति तरङ्ग
अलिकति फुर्ती, अलिकती घुर्की
यो वर्षौको भेट
यस्तो लजालु कि
कहिले सिमसिमे, कहिले झिमझिमे
कहिले मुसलधारे, कहिले दर्कने ।
दर्पणछायाँ होइन यो प्रेमलाप
अविरल साधनाको सुन्दर चित्र हो यो प्रेमलाप ।
नदीको आफ्नै कथा छ
पहाडको आफ्नै कथा छ
कथा फरक भए पनि
दुबैको गाथा एउटै छ
पहाड चाहन्छ नदीलाई आफैभित्र बिलाउन
त्यसैले बनाउँछ उसले
असंख्य घुम्ती र अनगिन्ती गहिराइ
नदी चाहन्छ पहाडलाई आफूसँगै बगाउन
त्यसैले त खियाउँछ उसले
चट्टानी पहरा र ढुंगेनी बगर ।
प्रेममा संघर्ष र संघर्षमा प्रेम
नदी र पहाडको अनौठो कहानी
पहाडबिना नदीको गहिराइ के बन्थ्यो र !
नदीबिना पहाडको उचाइ के देखिन्थ्यो र !
उचाइ र गहिराइ नाप्ने फित्ता एउटै भए पनि
दिशा फरक भएपछि छुट्टिनु त छ्दैछ एक दिन
अनि बग्दछ पहाडको आँखाबाट भदौरे भेल
बिछोडको बेदनामा मन धमिलो बनाएर नदी पनि
सुदुर यात्रामा निस्कन्छ फेरि भेट्ने बाचा सहित ।
पहाडले आकाश थाम्नु छ
नदीले सागर भर्नु छ
अर्थात्
पहाड र नदीको एकाकार असम्भव छ
तैपनि
दुबैको प्रेम अविरल छ ।
(संखुवासभा)