कथा कथ् +आ (टाप)प्रकृति प्रत्ययबाट बन्छ । कथेर बनाउने हुँदा यसलाई कथा भनिएको हो । यो पनि कवि कल्पनामा आधारित विधा हो । यो विधा गद्यमा लेखिन्छ । अङग्रेजीमा सट स्टोरी भनिने कथा छोटा आख्यानात्मक रचना हुन् ।
कथा र उपन्यास मिल्दोजुल्दो हुन्छ । यो महाकाव्य र खण्डकाव्य जस्तै हो । यसमा उद्देश्य र प्रभावमा एकात्मकता हुन्छ । उपन्यासमा जस्तै कथावस्तु, पात्र, संवाद, वातावरण, उद्देश्य, दृष्टिबिन्दु यसविधामा पनि हुन्छ । कथा एकात्मक अर्थात सिङगल हुन्छ । कथामा उपन्यासमा जस्ता उपकथाहरु हुँदैनन् । कथाले जीवनको एउटा पक्षलाई लिन्छ भने उपन्यासले जीवनको वृहद पक्षलाई लिन्छ । कथामा पात्रहरु थोरै हुन्छन् । संवाद थोरै र छोटा छोटा हुन्छन् । परिवेश सानो हुन्छ । उद्देश्य पनि एकात्मक हुन्छ । दृष्टिविन्दु प्रथम तृतीय दुबै हुन सक्छ । योे पनि आफैमा पूर्ण रचना हो । यसमा आरम्भ,यत्न, विकास, उत्कर्ष, प्रतिफलको गतिक्रम हुन्छ । विषयका दृष्टिले सामाजिक, धार्मिक, ऐतिहासिक, पौराणिक मनोवैज्ञानिक आदि हुन्छ । प्रवृत्तिका दृष्टिले विसंगतवादी, सामाजिक यथार्थवादी,मनोवैज्ञानिकवादी, आदर्शवादी आदि हुन्छन् ।
सदानन्द अभागी साहित्यिक क्षेत्रमा प्रशिद्ध नाम हो । उनको खास नाम सदानन्द जैसी हो । उनी राष्ट्रिय पहिचान बनाएका कवि हुन् । दुईवटा महाकाव्य भएको हुनाले उनलाई महाकवि पनि भनिन्छ । उनको जन्म १५ मार्च १९४७ मा पर्वत जिल्लाको शंकर पोखरीमा भएको हो । उनको आमाको नाम नन्दकली रिजालर पिताको नाम कलाधर रिजाल हो । उनले बिएस्सी एजीसम्म अध्ययन गरेका छन् । उनले गोरखा दक्षिणबाहु चौथालगायत अन्य धेरै पुरस्कारहरु पाएका छन् । हाल उनी लक्ष्मी स्मृति साहित्य समाजका अध्यक्ष छन् । सरकारी सेवाको सिलसिलामा उनी इजिप्ट, फिलिपिन्स, थाइल्याण्ड, जापान र भारतमा भ्रमण गरेका छन् ।
नेपालीय साहित्यमा उनको पहिलो कृति आफ्नै व्यथाहरु (२०५७) हो । त्यसपछि उनका निरन्तर कृतिहरु प्रकाशन भएका छन् । उनको दोस्रो कृति बूढो जवानी(२०५८) हो । त्यसपछिका कृतिहरुमा पश्चात्तापका आँशु कथा संग्रह (२०५८), जीवनलिला खण्डकाव्य (२०५८), कोपिला उपन्यास(२०६०), तीनयुग एक कथा महाकाव्य (२०६०), काठमाण्डौं देहरादुन यात्रा विवरण(२०६०), म र मेराहरु जीवनी(२०६०), अग्निज्वाला महाकाव्य (२०६१), नियति उपन्यास (२०६१),तन्नेरी हजुर बाउ पन्यास (२०६१),माटो र विरुवाको भोक कृषिकाव्य(२०६१), मोहनीको मीठो म्वाईं कविता संग्रह(२०६२), परिवर्तन कथा संग्रह(२०६३), भुटानी शरणार्थीको व्यथा कथासंग्रह(२०६३),समभोग समाधिगजल संग्रह(२०६४), बुढौतीका रहरहरु गजल संग्रह(२०६५), गजलगुटिका गजल संग्रह(२०६५), अभागीका गजलहरु(२०६६), अभागीका मुक्तकहरु(२०६८) यात्री उपन्यास(२०६८), गजल परिकार(२०६८), सृष्टिमा अभागीको दृष्टि समालोचना(२०६९) बालुवाको घर(२०६९) आदि हुन् । उनका प्रकाशित कृतिहरु ३८ वटा छन् । उनको अत्युर्बर समय ६० दशक हो । यस बीचमा उनले निकै धेरै उपलब्धि हासिल गरे ।
आज म उपरोक्त विधागत सिद्धान्तका आधारमा कथाकार सदानन्द अभागीद्वारा रचित कथा ‘बालुवाको घर’ कथा संग्रहको विषयमा समीचीन समीक्षा गर्न चाहन्छु । ‘बालुवाको घर’कथा संग्रहमा १६ कथाहरु संग्रहित छन् । यो कथा संग्रहमा मध्यविन्दु बहुमुखी क्याम्पस कावासोतीका उपप्राध्यापक धनपति कोइरालाले भूमिका लेखेका छन् । भूमिकामा कोइराला लेख्छन्—“प्रस्तुत कथा संग्रहमा मानवीय जीवनका हरेक संगतभन्दा पनि ज्यादा विसंगत पक्षको उद्घाटन गरी तिनमा देखिएका विकृत र विसंगत पक्षको सुधार र परिष्कार गर्ने अभिलाषा राखिएको छ । कथाहरु कतै संक्षिप्त, कतै संस्मरणात्मक, कतै नाटकीय त कतै वर्णनात्मक, शैली प्रयोग गरिएको छ । यसमा प्रस्तुत कथाहरु ज्यादा तृतीय पुरुषात्मक दृष्टिबिन्दुका छन् । प्रथम पुरुषात्मक दृष्टिबिन्दुका पनि छन् ।”
भुपेन्द्र शर्मा भट्टराईले अभागीको विषयमा लेख्छन्—“बालुबाको घर प्रयोग र बिम्बले भरिएको कथा हो । जसले राष्ट्र, समाज र घरभित्रको द्वन्द्वको चित्रण गरिएकोे छ । अभिव्यक्ति कला जस्तो होस् अनुभूति कला गम्भीर छ ।” त्यसरी नै साहित्यकार कृष्णादेवी शर्मा श्रेष्ठले बालुवाको घर कथा संग्रहको विषयमा भन्छिन्—“यी सोह्र कथाहरु अध्ययन गर्दा पाठकलाई घटनाको निकट रहेको अनुभूति हुन्छ । राष्ट्रका गतिविधि, नेपाली नारीको व्यथा, राष्ट्रिय चिन्तन र हरेक जीवनको सेरोफेरो समेत समेटेर रचना गरिएको यो कथा संग्रह निकै मार्मिक छ ।”
कथाकार अभागीको ‘बालुवाको घर’ केन्द्रीय कथा हो । यो कथा प्रथम पुरुषीय ढाँचामा लेखिएको छ । यो कथा लक्षार्थपरक छ । राजदरबारले मूठ्याएको अधिकार, दरबारको अवशान अनि त्यही राजकीय शान, सौकात र मानमा हिंडेका राजनीतिक दलका नेताहरुको जमिन्दारी स्वभावको विषयमा चित्रण छ । यसको कथामा राजनीतिक विषय छ । कथामा झिनो कथानक छ । परिवेशर संवाद छैन । वाह्यद्वन्द्व छैन । आपसी खिचातानी र त्यसबाट आजित भएका जनताको विषयमा लेखिएको छ । यो कथा दश मिनटमा पढि सकिन्छ । पाठकहरुलाई गहिरो प्रभाव पार्छ ।
‘जीवनहार जन्मोत्सव उपहारमा’ कथाकारले विपन्न र सम्पन्न परिवारका किशोर किशोरीहरु कसरी नजिकिदै गए र आपसी प्रेमलाई कसरी विवाहसम्म पुराए भन्ने मनोवैज्ञानिक पक्षको विश्लेषण गरिएको छ । यो कथा यौन मनोविश्लेषणात्मक कथा हो । सम्पन्न र विपन्न परिवार बीचमाविवाह गराएर प्रेम प्रणयलाई उदात्त रुपमा प्रस्तुतगरिएको छ । यस कथामाकथानक छ । आरम्भबाट विकास हुँदै उत्कर्षमा पु¥याएर समापनतिर लागिएको छ । यसमा दाइजो दिने सामाजिक आडम्बरको विरोध गरिएको छ ।‘पसिना’ कथामा अन्तरजातीय विवाह र वैदेशिक रोजगारको समस्याको विषयमा उल्लेख छ । ‘नघर न घरकी’ कथामा रोजगारीको लागि विदेश पुगेका युवकले पाएको धोकाको विषयमा उल्लेख छ । उनी घरमा आउँदा सबै गुमाउन पुगेका छन् । यो कथा कारुणिक कथा हो । ‘अभिलाषा’कथामा धन र रुपको घमण्ड र त्यो घमण्डबाट पाएको सास्तीको विषयमा चर्चा छ ।
‘प्रतिशोध’कथामा कुलीन परिवारको ब्राम्हणको छोरा र चौधरी परिवारकी छोरीबीच विवाह गराइएको छ । सामाजिक इज्जतका कारण प्रेममा फसेका केटाकेटीहरुलाई छुटाउन खोजिएको छ । यस कथामा निष्पक्ष तथा तटस्थ छानविनको आग्रह गरिएको छ । ‘जिउँदोले माड पाएन मरेकालाई खीर’ कथामा सामाजिक आडम्बरको विषयमा खण्डन गरिएको छ । वृद्धवृद्धाहरुलाई जीवनभर हेला गर्ने, सेवा सुश्रुषा नगर्ने तर मरेपछि उसको नाममा ठूलै दान गरेर आफूलाई महान बनाउने कर्तव्यहीन आडम्बरी व्यक्तिको विसंगत प्रवृत्तिको उदाङ्गो पारिएको छ । ‘पसिना यही देशको निर्माणमा भिजोस्’ शीर्षक स्वयंमा सन्देश हो । यसमा पैसाको मोहपासमा परेर आफ्ना बालबच्चा अनाथ बनाएर विदेश पुगेका माता—पिताप्रति व्यङग्य गरिएको छ । अन्तरराष्ट्रिय रोजगारले पारेको दुश्प्रभावको सशक्त चित्रण छ ।
‘स्वार्थी जमात’कथामा सरकारी स्कूल र निजी स्कूलमा पढाउने आफ्नै छोराछारीप्रति भएको भेदभावको खण्डन छ । सरकारी पक्षको अकर्मण्य प्रवृत्तिको खण्डन छ । ‘बुढाबुढीको आआफ्नो व्यथा’ कथामा आधुनिकता र पछौटेपनको द्वन्द्व देखाउनुको साथै लोग्ने मान्छेहरुले गर्ने भाषण र घर व्यवहारमा देखिने अन्तरको विषयमा व्याख्या गरिएको छ । ‘एउटा सपना’कथामा सपनालाई बिम्ब बनाएर मान्छेमा हराउँदै गएको संवेदनालाई छर्लङग पारिएको छ । ‘आवश्यकता’ कथामा मानिको यौवन, यौन र मदान्धको चिरफार गरिएको छ । ‘बतासे डाँडाको तीनदिन’ शीर्षक कथामा माओवादी जनयुद्धको विषयमा उल्लेख गरिएको छ । ‘जन निर्णय’ लघु कथा हो । यसमा तत्कालीन राजतन्त्र र माओवादी जनयुद्धकै विषयमा उल्लेख गरिएको छ । ‘कोकिलाको न्याय’ कथामा निम्नवर्गीय चत्रिको यथार्थ वर्णन गरिएको छ । यस कथामा कोकिलाको जीवन्त चित्रण छ ।
अभागीका कथाहरु कथागत संरचनाका दृष्टिले परिपुष्ट नहोलान्, अभिव्यक्ति कला सशक्त नहोला तर अनुभूतिको पकड बेजोड छ । उनी जनमनको सूक्ष्म अनुभूति पकड्न सक्ने कथाकार हुन् । सामाजिक यथार्थ, मनोवैज्ञानिक समस्या, आदर्शवादी प्रवृत्तिउनका कथाहरुको प्रवृत्ति हो । ससाना विषयलाई लिएर मन छुने किसिमले छोटा—छोटा कथा लेखिएका छन् । मानवीय संवेदना, अनुभूति, परानुभूतिको विषयमा लेखिएका यी कथाहरु महत्वपूर्ण छन् । कथाहरु राजनीतिक, सामाजिक, मनोवैज्ञानिक विषयमा लेखिएका छन् । कथाहरु छोटा छन् । प्रत्येक कथा पढ्न दशदश मिनट भन्दा ज्यादा लाग्दैन । केही कथाहरु निकै मार्मिक र घतलाग्दा छन् ।
कविता विधामा कविता संग्रह, खण्डकाव्य हुँदै महाकाव्यीय उत्कर्षतामा पुगेका उनका कृतिहरु महत्वपूर्ण छन् । यता लघुकथा, कथा हुँदै उपन्याससम्म पुगेका करिब चालीस कृतिका रचनाकार सदानन्द अभागी हाम्रो आदरणीय साहित्यकार हुन् । उनको योगदान नेपालीय साहित्यमा अमर रहनेछ । हामी उनलाई उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौं ।
(रुपन्देही)