घर अगाडिको साँघुरो सडक मसँग आफ्नो फैलावट माग्छ । बगैँचाका ढकमक्क फूलहरू मसँगै माग्छन् सुवास । बगिरहेको नदी मसँग माग्छ आफ्नो प्रवाह । चराहरू माग्छन् चिर्बिराउने अनुमति मैसँग । घुम्दाघुम्दैको पृथ्वी टक्क अडिन्छ र, माग्छ गति मसँग । एउटा सिद्धहस्त तर, पुरातन कविबाट लेखिँदै गरेको कविता कविको आँखा छलेर आउँछ मकहाँ र, माग्छ केही समकालीन बिम्बहरू । सपनाहरू आउँछन् र, माग्छन् बास आँखामा केही समयका लागि । सङ्गीतका धुनहरू घेर्छन् मलाई र, माग्छन् यो समयका प्रचलित भाकाहरू । ‘कति बेला निस्कूँ बादलबाहिर ?’ प्रश्न गर्छ जून । समय सोधिरहन्छ दिनदिनै आफ्नो गन्तव्यमा पुग्ने सही बाटो । विद्यालयहरू मैसँग माग्छन् आफूतिर बढ्ने कलिला पाइतालाहरू । नाबालक समृद्धि मैसँग पहिल्याइमाग्छ आफूले छिचोल्नुपर्ने मूल बाटो । हिमालहरू मैसँग सोध्छन् उन्मुक्त हाँस्ने कला । कसरी पो उभिने हो हामीले ? पहाडहरू प्रश्न गर्छन् । मैतिर सोझिएका छन्– भोका अनुहारका टिठलाग्ला प्रश्न निराश आँखाका आशावादी हेराइ । ठेला उठेका हातहरूका पसिना मसँगै सोधिरहेछ आफ्नो मूल्य वृद्ध बाआमाहरू बेआबाज सोधिरहेछन् उमेरको अन्तिम बिसौनी । छन त सबै प्रश्नका उत्तर छन् मसँग र, पनि निरुत्तर छु म यति बेला । केही समय भयो– म प्रतिकूल समयको कुरूप हाँगाबाट उठ्नै नसक्ने गरी खसेको छु । सत्य हो- निरुत्तर छु तर निभ्न दिएको छैन मैले आगो यी आँखामा । (मकवानपुर)