घर अगाडिको साँघुरो सडक
मसँग आफ्नो फैलावट माग्छ ।
बगैँचाका ढकमक्क फूलहरू
मसँगै माग्छन् सुवास ।
बगिरहेको नदी
मसँग माग्छ आफ्नो प्रवाह ।
चराहरू माग्छन्
चिर्बिराउने अनुमति मैसँग ।
घुम्दाघुम्दैको पृथ्वी
टक्क अडिन्छ
र, माग्छ गति मसँग ।
एउटा सिद्धहस्त
तर, पुरातन कविबाट लेखिँदै गरेको कविता
कविको आँखा छलेर आउँछ मकहाँ
र, माग्छ केही समकालीन बिम्बहरू ।
सपनाहरू आउँछन्
र, माग्छन् बास आँखामा
केही समयका लागि ।
सङ्गीतका धुनहरू घेर्छन् मलाई
र, माग्छन् यो समयका प्रचलित भाकाहरू ।
‘कति बेला निस्कूँ बादलबाहिर ?’
प्रश्न गर्छ जून ।
समय सोधिरहन्छ दिनदिनै
आफ्नो गन्तव्यमा पुग्ने सही बाटो ।
विद्यालयहरू मैसँग माग्छन्
आफूतिर बढ्ने कलिला पाइतालाहरू ।
नाबालक समृद्धि मैसँग पहिल्याइमाग्छ
आफूले छिचोल्नुपर्ने मूल बाटो ।
हिमालहरू मैसँग सोध्छन्
उन्मुक्त हाँस्ने कला ।
कसरी पो उभिने हो हामीले ?
पहाडहरू प्रश्न गर्छन् ।
मैतिर सोझिएका छन्–
भोका अनुहारका टिठलाग्ला प्रश्न
निराश आँखाका आशावादी हेराइ ।
ठेला उठेका हातहरूका पसिना
मसँगै सोधिरहेछ आफ्नो मूल्य
वृद्ध बाआमाहरू बेआबाज सोधिरहेछन्
उमेरको अन्तिम बिसौनी ।
छन त सबै प्रश्नका उत्तर छन् मसँग
र, पनि निरुत्तर छु म यति बेला ।
केही समय भयो–
म प्रतिकूल समयको कुरूप हाँगाबाट
उठ्नै नसक्ने गरी खसेको छु ।
सत्य हो- निरुत्तर छु
तर निभ्न दिएको छैन मैले
आगो यी आँखामा ।
(मकवानपुर)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।