मेरो तर्क, वितर्क र
विचारहरुले आजकल
आफै प्वाँख उमार्दैछन्
र त म
उज्यालोमा पनि
बत्ती बाल्ने गर्दछु ।
अँध्यारोले मलाई
उति खप्पिस पारेको छैन
जतिको उज्यालोले पारेको छ ।
यी प्वाँखे विचारहरु
कसरी
छोटिएर चाउरिएर
माराकमुरुक भएर
सानो भएर
आफूभित्र
उकुसमुकुस हुँदै
प्रवेश-द्वार खोज्दैछ
यो सानो आकाशभित्र
अटाई-नअटाई ?
यसैले त होला
आजकल 'म'
आकाशसित झुण्डिने
जमर्को गर्छु ।
तर, आकाश त
खोक्रो रहेछ, खोक्रो
बाहिरी मात्र बोक्रो रहेछ, बोक्रो
गहिरो छाया
सागरको छायालाई
सागरले पैंचो लिएको
आवरण मात्र
'म' पनि अरु-अरु
पिण्डहरुसरह
ब्रह्माण्डमा
झुन्डिएको मात्र रहेछु ।
यी आफैआफ
कोचिएका विचारहरु
उकेल्न खोज्छु
तर, ओकल्न सक्दिनँ
कस्तो अभिशाप
यही अभिशापले होला
कतै मलाई
आकाशले थाम्न नसकेर
खसाल्न पनि सक्छ ।
यसरी खस्दा-खस्दै
एक चोक्टा
आकाशको बोक्रा पनि
हातमा लिएर 'म'
झट्टारिन कहिले नपरोस्
यो संसारमा ! धर्तीमा !!
(गान्तोक पूर्व सिक्किम)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।