पर्दैन देखाइरहनु कसैलाई
माटोप्रतिको माया र श्रद्धा ।
इतिहासले घोक्रो सुकुन्जेल कराएका नादहरू
शब्दहीन भए बहिराको कानमा पसेर
माटो मलिलो बनाउने उद्यमी हातहरू
हेरिरहे अकासतिर शून्यको पोको लिएर ।
समयको कुटिल चालमा पिल्सिएको घाउ
चिकित्साधीन छ नुन छर्किएर निको पार्नेका हातमा
निराशाले खोजिरहेको छ आशाको अलिकति किरण
भीडले सुन्न सक्ने एउटा सुमधुर गीत बनाउनलाई ।
लामो यात्रा दौडिसकेका अनुहारहरूभरि देखिन्छ
माटाले सँगालिदिएको उनीहरूकै दर्बिलो पदछाप ।
(विश्वनाथ, असम, भारत)