काठमाडौं ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती आज देशविदेशमा विविध कार्यक्रम गरी मनाइँदैछ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तले रामायणको नेपाली भाषामा भावानुवाद गरेका थिए । सीमित व्यक्तिले संस्कृत भाषामा लेखिएका महाकाव्य पढ्दै अएको र लेखिदै आएको त्यो समयमा नेपाली भाषामा महाकाव्य लेख्ने साहस गर्नु भानुभक्तको प्रगतिशील कदम थियो ।
अहिले पनि नेपाली समालोचकहरुले भानुभक्तले सांस्कृतिक र भाषिक एकीकरण गरेका थिए भनेर पगरी लगाइदिन्छन्। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए भन्नु अतिरञ्जनासिवाय केही पनि हैन । उनले नेपाली भाषाको श्रृवृद्धिमा योगदान दिएको भने पक्कै हो । नेपाली भाषामा पनि साहित्य लेख्न सकिन्छ भनेर नेपाली भाषालाई अहिलेको रुपमा ल्याउन योगदान पुर्याएको पनि पक्कै हो । तर उनले भाषिक र सांस्कृतिक एकीकरण गरेको भन्नु नितान्त गलत कुरो हो । भाषिक र सांस्कृतिक एकीकरण हुनै सक्दैन भन्छन् जानकारहरु ।
उनलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए भनिन्छ । के उनी घाँसीबाट प्रेरित भएरै साहित्य साधनामा लागेका थिए ? यो कथन मोतिरामले रचेको बनाबटी कुरा हो भन्ने बहस पनि पढ्न पाइन्छ ।
एकातिर उनले सरल भाषामा रामायण लेखेर नेपाली समाजमा रामभक्ती फैलाउन सहयोग पुर्याए भने अर्कोतिर ‘वधुशिक्षा’ र प्रश्नेत्तरीजस्ता कृति लेखेर महिला विभेदलाई संस्थागत गर्न सहयोग पुर्याए भन्नेहरु पनि छन् । रामायण उनको विशुद्ध धार्मिक कृति भएता पनि ‘वधुशिक्षा’ असाध्यै प्रतिगामी र महिलविरोधी कृति हो ।
रामायण र ‘वधुशिक्षा’ बाहेक उनका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, लगायत फुटकर रचना प्रकाशित छन् ।
अहिलेसम्म भानुभक्तलाई महान् आदिकविको उपमा दिँदै प्रशंसा मात्र गरिएको पाइन्छ । उनको नैतिक मूल्यमाथि बहस गरिदैन । उनी कवि मात्र थिएनन् कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका अभियुक्त पनि थिए । सकारात्मक कुरासँगै नकारात्मक कुराको पनि बहस भयो भने मानिसको समग्र मूल्याङ्कन हुनसक्छ भन्छन् प्रगतिशील ध्रुवका कवि समालोचक ।
भानुभक्तलाई नेपालमा भन्दा पूर्वोत्तर भारतको दार्जिलिङ, सिक्किम, असम र भूटान, बर्मालगायत ठाउँमा बढी पुजिन्छ, सम्झिन्छ । साथै नेपालीहरुको बाक्लो उपस्थिति रहेका समुद्रपारिका अन्य राष्ट्रमा पनि भानुभक्तको जन्मजयन्ती मनाइन्छ ।
भानुभक्तको जन्मजयन्ती मनाउँदै गर्दा उनीभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन्। उनको जन्मजयन्ती मनाउनु कुनै विवादको कुरो हैन तर उनीभन्दा पहिले पनि नेपाली भाषामा कविता र महाकाव्य लेख्ने कवि हुँदाहुँदै उनलाई नै आदिकविको मान्यता दिइरहनु भने बहसको विषय हो ।














