उनी मुलत बिज्ञान र प्रबिधिका अनुसन्धाता थिए । उनले हप्तौ आफ्नो प्रयोगशालामा बसेर अनुसन्धान कार्यमा ब्यस्त रहन्थे । उनको कडा मेहनत र निरन्तरता साँच्चिकै तारिफयोग्य थियो । उनको प्रयोगशालाबाट मानव हितमा प्रयोग हुने सयौँ बिशिष्ट तथ्य र सामग्रीको खोज भएको थियो । बर्षौसम्म भोक तिर्खा थकाइ बिर्सेर खोजमा लागेका थिए ।
उनको जीवन कुनै तपस्यारत महर्षीको जस्तो थियो । उनले आफ्नो जीवनका अनेकौँ भौतिक भोगलाइ तिलान्जली दिएर मानवहितमा लागेका थिए । उनका बौद्धिक कार्यले हजारौँ बर्षसम्म मानव सभ्यतालाई उज्यालो देखाइरहने कुरामा कुनै सन्देह थिएन । उनले असाध्य रोगका औषधीदेखि अन्तरिक्ष अनुसन्धानसम्मका अनेकौँ कार्य गरेका थिए ।
उनको यतिबिध्न योगदान देखेर उनले पुज्ने देवता एकदिन उनका अगाडि प्रकट भएर भने,
“तिम्रो अनुसन्धान र मानव जातिका लागि तिमीले दिएको योगदानले म प्रशन्न भएँ । म तिमीलाई करोडौँ असर्फी दिन्छु !”
“माफ गर्नुहोला प्रभु ! मलाई धन सम्पत्तीको कुनै काम छैन । मलाई त्यो असर्फीको कुनै मुल्य छैन ।”
“त्यसो भए तिमीलाई म ठुलो पद प्राप्तीको बरदान दिन्छु ।”
“प्रभू मलाई त्यो पदको पनि कुनै लालसा बाँकी छैन । मलाई त्यो पनि नदिनु होस् ।”
“त्यसो भए तिमीलाई मैले अर्को सय बर्ष आयू थपिदिन्छु !”
“प्रभू ! मलाई यही जीवनलाई जतिसक्दो सार्थक बनाउन कोशिष गरेँ । मलाइ त्यो थप लामो आयुको बोझ पनि नदिनु होस् ।”
“म तिमीलाई भोग बिलासले भरिपूर्ण भएको अनुपम जीवन दिन्छु ।”
“प्रभु ! मलाई त्यस्तो जीवन त झन चाहिदै चाहिदैन ।”
“तिमीले माग्नै पर्छ, केही न केही माग !”
“म असल मान्छे बन्न पाऊँ !” अनुसन्धाताले भने ।
“तथास्तु (त्यस्तै होस्)” देवताले आशीर्वाद दिए ।
त्यो दिनदेखि ती मान्छे देवता भए तर आशीर्वाद दिने देवता भने मान्छेमा फेरिए ।
(गुल्मी हाल क्यानडा)