वास्तवमा पूर्वीय तथा पाश्चात्य मापदण्डका आधारमा रचिएका महाकाव्यका स्रष्टाहरु महाकवि हुन् । महाकाव्यको परम्परामा विन्यस्त हुँदै जाने महाकविहरु सबै झल्कदैनन् । सबैको आयतन एउटै हुँदैन । विशाल नभमा देखिने साना ठूला ताराग्रह समान रुपमा चम्कदैनन् । त्यस्तै कवित्व शक्ति र त्यसले निर्धारण गरेको आयतनका कारण तिनीहरु त्यही अनुपातमा चम्किन्छन् र झल्किन्छन् ।
नेपालीय साहित्यमा करिव दुई सय जति महाकाव्यहरु रचिएका छन् । सबै महाकविहरु झल्कदैनन् तर महाकाव्यीय परम्परामा विन्यस्त हुन्छन् । त्यसैले सबै महाकाव्यका रचनाकारहरु महाकवि नै हुन् । महाकाव्य परम्परामा विन्यस्त भएकाहरुमध्ये झल्किन सक्नेहरु केही मात्र छन् । ती मध्ये ‘स्वप्नदृष्टि’ महाकाव्य झल्किरहने कृतिका रुपमा देखा पर्छ । त्यसैले नेपालीय साहित्यमा यो कृतिको विशेष महत्व छ ।
नेपालीय साहित्यका विराट व्यक्तित्व महादेव अवस्थीले करिब दुईसय जति महाकाव्यहरु अद्योपान्त पढेका छन् । उनले पढेका महाकाव्यहरुमा रामायण, आदर्श राघव, तरुण तपसी, शाकुन्तल, प्रमिथस, चिसो चूल्हो, र मृत्युन्जयलाई महाकाव्यकै विधातात्विक प्राप्तिका सातवटा मापक आधार सर्गबद्धता, आख्यानयोजना, भावविधान, लयविधान, भाषाशैली शिल्प र गुण दोषका कसीमा राखी स्वप्न दृष्टि महाकाव्यलाई तिनीहरुसँग तुलना गरी हेर्दा ‘स्वप्नदृष्टि’ महाकाव्य छवटा पक्षमा घनात्मक देखा पर्ने तरुण तपसी, शाकुन्तल, प्रमिथस, र मृत्यन्जय महाकाव्यकै तुल्य देखिन आउँछ भनेर यो कृतिको महत्ताको बारेमा उल्लेख गरेको पाइन्छ ।
त्यसरी नै अर्का महान व्यक्तित्व डा. देवीप्रसाद नेपालले स्वप्नदृष्टि महाकाव्य कवि रामप्रसाद ज्ञवालीको तीन दशकको साहित्य साधना र दुई दशकको महाकाव्य साधनाको चूडान्त प्राप्ति हो भनेका छन् । यसले के देखाउँछ भने यो महाकाव्य परम्परामा कवित्व शक्तिका कारण झल्किरहने महाकाव्य मध्ये यो एक हो ।
महाकवि रामप्रसाद ज्ञवालीको जन्म २०२४ सालमा भएको हो । उहाँ कुन्तादेवी ज्ञवालीका काहिँला सुपुत्रको रुपमा गुल्मी जिल्लाको रुरु गाउँपालिका थोर्गामा जन्मिनु भएको हो । उहाँको पिताको नाम पं.दुर्गाप्रसाद ज्ञवाली हो । उहाँले आफ्नै जन्मस्थलकै स्थानीय विद्यालयबाट औपचारिक शिक्षा प्राप्त गर्नु भयो । त्यसपछि उहाँले भारतको हरिद्वारमा बसी बनारसको सम्पूर्णानन्द संस्कृत विश्व विद्यालयबाट प्रथम श्रेणीमा शास्त्री उत्तीर्ण गर्नु भएको देखिन्छ । त्यसपछि उहाँले त्रिभुवन विश्व विद्यालयबाटनेपाली महाकाव्यमा ‘वर्गीयता र वर्ग द्वन्द्वको अभिव्यक्ति’ विषयमा विद्यावारिधि गर्नुभएको छ । हाल उहाँ काठमाण्डौको कपनमा जीवन संगिनी उषा पन्थी छोरा रोशन ज्ञवाली र छोरी रश्मि ज्ञवालीका साथ बस्नु भएको छ । सुसंस्कृत परिवार भएकोले उहाँलाई पारिवारिक झन्झट व्यहोर्नु परेन । उहाँ त्यो झन्झटबाट विरत भई एकोहोरो रुपमा साहित्य साधनामा लाग्नु भएको हो । उहाँको व्यक्तित्व निर्माणमा उहाँकोजीवनसाथी उषा पन्थीको महत्वपूर्ण हात छ ।
डा.रामप्रसाद ज्ञवालीको २०४२ सालमा हरिद्वारबाट प्रकाशित हुने ‘सगरमाथा’ पत्रिकामा ‘हाम्रो कर्तव्य’ शीर्षकमा पहिलो पटक प्रकाशित भएको सिर्जना हो । उहाँ यही कविताबाट साहित्य क्षेत्रमा प्रवेश गर्नुभएको हो । त्यसपछि उहाँको क्षमता अद्भूत रुपमा बढेको देखिन्छ । उहाँको साधना, सिर्जनात्मक सामथ्र्य र साहित्यप्रतिको समर्पणले उहाँको व्यक्तित्व जुरुक्क उठेको देखिन्छ । पचासको दशकदेखि आन्तरिक परिपाकका कारण उहाँको प्रतिभा ज्वारविस्मयका साथ प्रकट हुन थाल्यो । उहाँको काव्य सामथ्र्य यति बढ्यो कि उहाँले २०४९ सालमा नेपाली विषयमा स्नातकोत्तर पढ्ने क्रममा सिर्जनात्मक पत्रका रुपमा लेखन गरिएको कृति ‘औंसीका फुलहरु’(२०५३) नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको पाइन्छ । उहाँ साहित्यको यात्रामा पहिलोपटक नै महाकाव्यबाट देखिनु भएको छ । त्यसपछि केही वर्ष अन्तरालमा परिपाकपूर्ण अभ्यासका साथ नयाँ नयाँ कृतिहरु प्रकाशन हुन थाले । उहाँका कृतिहरु विभिन्न विधामा देखिन्छन् । उहाँको अध्ययनमा विषयगत गाम्भीर्यता र बहुआयामिकता देखिन्छ ।
उहाँको लगभग सबै विधामा धाराप्रवाह लेख्न र रच्न सक्ने विस्मयकारी व्यक्तिको रुपमा देखा पर्नु भयो । विशेषतः काव्य क्षेत्रमा पुतली र झुसिल्किरा (२०५९), असुरग्याँस (२०६२),शब्दार्थ सौन्दर्य (२०६८) जस्ता गहकिला कविता संग्रह प्रकाशित भएका छन् । एका देशमा (२०६१) हिँडी रहूँ, हिँडी रहूँ (२०७२) जस्ता दुईवटा खण्डकाव्यहरु प्रकाशित भएका छन् ।
त्यसरी नै ज्ञवालीको सफल व्यक्तित्व समालोचना विधामा देखिन्छ । समालोचनामा आख्यानकार पारिजात (२०५८),पाश्चात्य साहित्य सिद्धान्तको सरल व्याख्या (२०६३),फुटकर कविताका केही बान्कीहरु( २०६४),तेस्रो आँखाको आलोचना (२०६७), महाकाव्य सिद्धान्त र नेपाली प्रयोग (२०६७),नेपाली महाकाव्यमा वर्गीयता र वर्गद्वन्द्व(२०७०), कविता समालोचना(२०७०), खण्डकाव्य समालोचना (२०७०),निबन्ध समालोचना (२०७०), कथा समालोचना(२०७०), फरक समालोचना (२०७०),परिचय समालोचना (२०७०) उपन्यास समालोचना (२०७०) हुन् । समालोचना साहित्य र समालोचक व्यक्तित्वमा पनि उहाँको उत्कृष्ट स्थान रह्यो ।
ज्ञवालीमा रहेको बहुआयामिक अध्ययन र अनुसन्धानले उहाँलाई विधागत विस्तारमा पनि उक्तिकै परिपक्व बनाएको देखिन्छ ।आख्यान विधामा परिवर्तनको मोडमा(२०५०), जीवनकाघुम्तीहरु (२०५३) महत्वपूर्ण उपन्यास हुन् । उहाँक सानी परेवी र बाज, (२०६१)आहा ! कति मीठो खीर(२०६५), काला जादूको कथा(२०६५)दयालु भावना(२०६६),खुरखुरे छेपारो र सुलुलुलु माछो (२०६९) सचित्र बाल कथाहरु प्रकाशित छन् । उहाँका विवश आँसु (२०४४),सम्पत्ति(२०६३) जस्ता नाटकहरु प्रकाशित छन् ।निबन्ध विधामा निबन्ध मुना(२०७०),निबन्ध कोपिला(२०७१) पनि छन् । उहाँको अनुवाद कृति यस्तोम सोंच्दछु प्रकाशित छ । यी कृतिहरु लगायत दर्जनौं पाठ्यपुस्तकहरु पनि प्रकाशित छन् ।
यी सम्पूर्ण कृतिहरुको समीचीन समीक्षा गर्दा उहाँमा प्रचूर सिर्जनशीलता छ । तीव्र र त्वरित वेग छ । सङघर्षशीलता छ र सक्रियता छ । यो उहाँको वैयक्तिक विशेषता हो ।
कविता अनुभूति प्रधान नै हुन्छ । मानवीय संवेदनशीलतामा हलचली ल्याउने कविताहरु जो कसैले लेख्न सक्दैनन् । अनि शास्त्रीय कवितामा धेरैले युगीन विचार र चाहना अभिव्यक्त गर्न सक्दैनन् भन्ने धारणा छ । ईश्वरभक्ति, स्तुतिपरक गान, अतिशय भावुकता, प्राकृतिक दृश्य वर्णन,वैचारिक जडता, अतीतप्रतिको मोहमा लाग्ने शास्त्रीय कविहरुले छन्द कविताको माध्यमबाट क्रान्तिधर्मी स्वरहरु मुखरित गर्न सक्दैनन् भन्ने आम धारणा थियो । तर जब डा. रामप्रसाद ज्ञवालीको साहित्य गंगाको छालमा प्रवेश गर्नु भयो त्यो चिन्तनले युग नै बदलियो । ज्ञवालीले शास्त्रीय छन्दमा आधुनिक भावना भरेर कलात्मक विचारहरु प्रस्तुत गर्न सफल हुनु भयो । पचासको दशकपछि छन्द साहित्यमा पुनर्जारणको केन्द्रीय नायकको रुपमा रहेर सफलतापूर्वक प्रगतिवादी स्वर प्रयोग गर्नुभयो । शास्त्रीय कविताको माध्यमबाट आधुनिक विचारको उद्बोधन गरेर माक्र्सवादी प्रगतिवादी काव्य परम्परामा झण्डै केन्द्रीय नायकको रुपमा देखा पर्नु भएको छ ।
महाकवि रामप्रसाद ज्ञवालीले सौन्दर्यप्रतिको भिन्दै धारणा प्रस्तुत गर्नुभएको छ । उहाँले हामीले भन्दै आएको सौन्दर्य रुप पक्ष हो । वास्तवमा सौन्दर्यको खोजी सार पक्षमा गरिनु पर्छ । महाकविले वस्तुको उपयोगिता, महत्व र औचित्यको वर्णनबाट प्रकट हुने वाह्य पक्ष सौन्दर्य हो । जुन कलाका माध्यमबाट प्रकट हुन्छ । हिमालको महत्व र उपयोगिताको कलात्मक वर्णन नै काव्य सौन्दर्य हो । देशभक्ति भावनाको महत्व र उपयोगिताको वाह्य वर्णन नै सौन्दर्य हो । आमाको महत्व र औचित्यको वाह्य वर्णन नै सौन्दर्य हो । बाबाको महत्व र औचित्यको वर्णन सौन्दर्य हो । नदीहरुको महत्व र उपयोगिताले त्यसको कलात्मक वर्णन हुन्छ । त्यो वर्णन काव्य सौन्दर्यको माध्यमबाट प्रकट हुन्छ । यही नै उनको सौन्दर्य शास्त्रप्रतिको धारणा हो जस्तो लाग्छ । यसले कलाको क्षेत्रमा रुप र सारको संयोजन गरेको आभास हुन्छ ।
महाकाव्य लेखन परम्परा सँस्कृत साहित्यबाट आएको हो । यसको स्वरुप र संरचनाको विकास पनि धेरै पहिलादेखि हुँदै आएको हो । महाकाव्यको मापदण्ड निर्माणमा भामह, दण्डी, विश्वनाथ आउँछन् । उनीहरुले शास्त्रीय महाकाव्यको उद्देश्य धर्म, अर्थ, काम, मोक्ष हो भनेका छन् । महाकाव्य विषय अनुसार फरक—फरक छन् । राजनीतिक, जीवनीमूलक, आदर्शवादी, यथार्थवादी आदि विषयका देखिन्छन् । महाकाव्य प्रस्तुतिका दृष्टिले गद्य पद्य र चम्पूपनि हुन्छन् । उद्देश्यका दृष्टिले विकासवादी र कलावादी हुन्छन् । बनोट र बुनोटका दृष्टिले महाकाव्यहरु पनि यौगिक नै हुन् । महाकाव्य विभिन्न तत्वहरुको संयोगले बनेको हुन्छ । ती तत्वहरुमा कथानक, पात्र, संवाद, परिवेश, द्वन्द्व, सन्देश आदि हुन्छन् ।
महाकाकाव्य कवितात्मक रचना नै हो । यसमा काव्य शक्ति हुनु पर्छ । यसलाई शृङ्गार गर्ने कला भनेको पक्ष हो । कला,विम्ब, अलङकार, प्रतीकहरुबाट प्रकट हुन्छ । कविता सुन्दर र मनोहारी हुनु पर्छ । संगीतमय ध्वनि प्रवाह हुनु जरुरी छ । सामान्य भनाइलाई काव्यमय बनाउनु पर्छ । त्यही काव्य शक्तिले व्यक्तिलाई अमर र कीर्तिलाई सार्थक बनाउँछ ।
संस्कृतका प्रकाण्ड विद्वान महाकवि रामप्रसाद ज्ञवालीको यो महाकाव्यका सबै अङ्ग अवयवहरु छन् । बनोट र बुनोट ठीक छ । यसको उद्देश्य अर्थ र मोक्ष प्राप्ति छ । यो राजनीतिक विषयमा आधारित छ ता पनि आर्थिक विषयमा पनि उत्तिकै चर्चा छ । यो कलावादी उपन्यास हो । प्रस्तुतिका दृष्टिले यो पद्य कृति हो । यसमा छब्बीसवटा छन्दहरुको प्रयोग गरिएको छ । यसमा कथानक रैखिक छ । मुख्य कथामा सहायक कथाहरु देखिदैनन् । यो नौलो प्रयोग हो । यसमा यात्रा वर्णन छ । धीर र उदात्त प्रकृतिका पात्रहरु छन् । यसको नायक शंकर भारती हुन् । अन्य पात्रहरु प्नि आएका छन् । संवाद भन्दा पनि आत्मालाप पक्ष बढी छ । नेपालबाट ल्हासा, छेन्दु हुँदै उत्तरकोरियाको राजधानी प्योङयाङ्गसम्मको विशाल परिवेश छ । परिवेश जीवन्त छ । यसमा लेखक स्वयंमा आन्तरिक द्वन्द्व छ । वाह्य द्वन्द्व स्वाधीन राष्ट्र उत्तर कोरिया र अमेरिकी साम्राज्यवाद बीच देखाइएको छ ।
यस स्वप्नदृष्टि महाकाव्यमा बेजोड काव्य शक्ति छ । कविता रसात्मक छ । शृङ्गार, वीर र शान्त रस छ । यदाकदा रौद्र रस पनि देखिन्छ । काव्यव्यन्जनामयी छ । ओजप्रसाद मधुर तिनै गुण भेटिन्छ । अनुभूतिलाई आख्यानीकरण गरिएको छ । संगीतमय ध्वनि प्रवाह छ । अनुष्टुप छन्दको आधीक्यता छ । शिल्प विधानमा सचेतता भेटिन्छ । विचारका दृष्टिले युग सापेक्ष विचार छ । शास्त्रीय परम्पराका मानकहरुलाई परिस्कार गरी नयाँ प्रयोग गर्न खोजिएको छ ।
यस कृतिमा सत्र सर्गहरु छन् । पहिलो सर्ग पूर्वाभास हो । यसमा काव्यकलाको महत्व र आफ्ना पिताजीको विषयमा वर्णन छ । नेपाली साहित्यमा आमाको विषयमा जति महाकाव्य, खण्डकाव्यहरु लेखिएका छन्, त्यो भन्दा निकै कम मात्रामा बाबाको विषयमा लेखिएका छन् । घरको सुरक्षा, सामाजिक मेलमिलाप र समृद्धिमा बाबाको महत्वपूर्ण भूमिका हुन्छ । कविले बाबाको महत्वलाई यसमा उल्लेख गर्नु भएको छ । कवि लेख्नुहुन्छ —
आमा बारे भएका छन् सिर्जना कति हो कति आमा बारे भएका छन् विश्लेषण सयौं थरी आमाको सबले गाए गीत संगीत सुन्दर पिताको महिमा बारे कमै छन्् सिर्जना तर ।
दोस्रो सर्गमा महाकविलाई चीन र कोरियामा जाने निम्तो आउँछ । उहाँहरु दुबैजना मानसिक रुपमा तयार हुनुहुन्छ । तेस्रो सर्ग बादलमाथिमा नेपाल हुँदै नेपाल र चिनका अग्ला अग्ला पर्वत शृङखलामा भारिएको कपासको चित्र जस्तै लाग्ने बादल हेर्दै ल्हासा पुग्नुहुन्छ । त्यहाँ यानभित्रको परिचारिकाको आकर्षक चर्चा छ । यो सर्ग शृङगार रस प्रधान छ । चौथो सर्गमा स्रष्टालाई महाकवि देवकोटाको सम्झना आउँछ । मुनामदन खण्डकाव्यमा ल्हासामा जाँदाको चर्चा सम्झन्छन् । वैदेशिक रोजगारमा जानु परेको विवशता, ल्हासाको क्षणिक बसाई, छेन्दुतिरको प्रस्थान, बीचमा परेको भाषिक समस्या चर्चा छ ।
यस सर्गमा कवि कर्मशील देखिन्छन् । कवि भन्छन्—
जबजब जनताले कर्ममै धर्म गर्दछन् पुरुष र महिलाले एक भई कर्म गर्दछन श्रम सिप र कलाले सृष्टि सौन्दर्य छर्छन् तब न मुलुक उठ्छन्, विश्व नेतृत्व गर्दछन् ।
पाँचौ सर्गमा भाषा सङकट र चमत्कारको चर्चा छ । यहाँ कवि भाषा सङ्कट भएकोमा पश्चात्ताप मान्नुहुन्छ । चिनियाँहरुमा रहेको आफ्नो भाषाप्रतिको गर्व र गौरवको चर्चा छ । पाँचौं सर्गमा विश्वमा सात आश्चर्यमा पर्ने ग्रेटवालको अवलोकन गरी त्यसको ऐश्वर्य र विशालताको वर्णन भएको छ । छैंटौ सर्गमा तियानमान चोक, फर्बिडेन सिटी, माओ समाधिस्थल, हेभेन ट्याम्पल, गृष्म दरबार, रङ्गशाला आदिको अवलोकन हुन्छ । यात्राको क्रममा यस सर्गमा उहाँले आफ्नी प्रियसीको शान्त स्वभाव र उदात्त व्यवहारको पनि चर्चा गर्नु भएको छ ।
सातौ सर्गमा महाकवि साथीहरुका साथ उत्तर कोरियाको राजधानीप्योङयाङ पुग्नुहुन्छ । त्यहाँ पुग्दा कोरयिाली जनताको राष्ट्रभक्ति, किमजोन उनप्रतिको हार्दिक समर्थन, विकास निर्माणमा जनताको लगाव, भव्य र सुन्दर सहर, सकारात्मक मिडियाको प्रशंसा छ । यसमा वीर धारा तरङ्गित भएको छ । आठौ सर्ग परिचय हो । यसमा उहाँले नेपालको प्राकृतिक वैभवको जयगान गर्नु भएको छ । अनि नेतृत्वप्रति असन्तोष जनाउँदै आशावादमा ओर्लेर सर्ग पूरा भएको छ । नबौं सर्गमा साम्राज्यवादको धज्जी उडाउनु भएको छ । अमेरिकी साम्राज्यवाद विरुद्ध ठिङ्ग उभिएर प्रतिवाद गरिरहेका कोरियाली वीर विरङ्गनाहरुलाई सलाम गर्न पुग्नु भएको छ ।
नबौं सर्गमा कोरियाली विधि पद्धतिको चर्चा गर्दै भव्य संग्रहालय साइन्स एण्ड टेक्नोलोजीको बयान छ । एघारौं सर्गमा कोरियाको प्रयोगमा आधारित व्यावहारिक शिक्षाका बारेमा चर्चा छ । बाह्रौ सर्गमा उहाँ साथीहरुका साथ औपचारिक कार्यक्रममा पुग्नुहुन्छ । प्रतिनिधि मण्डलको तर्फबाट शंकर भारती र मणिले मन्तव्य राख्छन् । नेपाली वक्ताहरुले भारतीय दबाबको पनि निन्दा गर्छन् । यसमा युथ मुभमेन्टको चर्चा र रात्री भोजको बयान छ । तेह्रौ सर्गमा विश्व प्रशिद्ध समाधि भवन कुम्सुसाङ दरबार, त्यहाँ शव गृहमा राखिएका जुछेविचारधाराका प्रवर्तक किम इल सुङ्ग र किमजोङ्ग इलका धप्प बलेका जीवन्त लाग्ने आकर्षक शवहरु हेर्नुहुन्छ । चौधौं कल्पनातीत सर्गमा अमेरिकी साम्राज्यवादीहरु विरुद्ध लड्दाको परिदृश्यहरु देखाइन्छ । अमेरिका हारेर गएका गाथाहरु सुनिन्छ । त्यसलाई रंगचित्र तथा वृत्तचित्रको माध्यमबाट प्रदर्शन गरिन्छ । पन्ध्रौं सर्गमा महाकविले कोरियामा सहर मात्र हैन, गाउँको पनि अवलोकन गर्नुहुन्छ । प्योङयाङ गल्फ रिसोर्टमा सबै मिलेर सहभोज गर्छन् । त्यहाँ अलग अलग राष्ट्रबाट आएकाप्रतिनिधिहरुले आआफ्ना राष्ट्रिय गीत गाउँछन् । सोह्रो सर्ग चिडिया घर हो । यसमा चिडियाघरको प्रदर्शन र नेपाल फर्कने चर्चा छ । यात्रुहरु फेरि छेन्दु र ल्हासा हुँदै नेपालतिर आउँछन् । सत्रौं सर्गमा महाकविले गम्भीर आत्मबोध गर्नु भएको छ । जीवनको अस्तित्व र प्राप्तिको विषयमा चर्चा गर्दै उपसंहारतिर लाग्नु भएको छ । सर्गान्तमा कविले विश्व मानवतावादको सन्देश यसरी दिनु भएको छ —
आदर्श सबै देख्छु—विश्ववाद उदाउँछ यथार्थमा अझै देख्छु आर्तनाद कराउँछ मेरो मानसमा यौटै जिज्ञासा लहराउँछ विश्वमा एउटै झण्डा कहिले फर्फराउँछ ?
अन्त्यमा महाकवि रामप्रसाद ज्ञवाली नेपालको वाटिकामा फुलेको यस्तो गौरवशाली फूल हो, जुन फूल पूर्ण रुपमा फक्रिएर नेपालीयसाहित्यमा नयाँ युग ल्याउने सामथ्र्य राख्छ । उहाँ साहसी र स्वाधीन व्यक्ति पनि हो । उहाँले कुनै पनि पार्टीको सदस्यता लिन चाहनु भएको छैन । त्यसले कैयौं अवसरहरु गुमेका पनि हुन सक्छन् । महाकवि साहित्यमा गणतान्त्रिक आन्दोलनका धरोहर हुनुहुन्छ । उहाँ जीवनभर जोखिमसँग लड्दै र भिड्दै आउनु भएको छ । जति भिड्नु भएको छ,त्यति सबल र गम्भीर बन्दै जानु भएको देखिन्छ ।
उत्तरवर्ती युवा कविहरुमा उहाँको योगदान महत्वपूर्ण छ । उहाँका आफ्नै दृष्टिकोणहरु छन् ।त्यसैले नै उहाँलाई उहाँ बनाएको छ । तपस्या गरिरहने मानिसहरु व्यक्तित्वको विज्ञापनतिर लाग्नु हुँदैन । त्यसले सिर्जनामा क्षय गर्छ र अन्ततः लक्षमा पुग्न सकिदैन । त्यसैले उहाँले स्वव्यक्तित्वको प्रचारको लगरीझगरीतिर लाग्नु भएन । लामो र कठोर साधनाका साथ नेपालीय साहित्यमा जाज्वल्य बन्न सफल हुनु भएको छ । उहाँलाई आगामी दिनहरुमा लाखौं विद्यार्थीहरुले सिर्जन साहित्य र पाठ्य पुस्तकको माध्यमबाट पढ्ने छन् । अस्तु ।
(रुपन्देही)