सुस्तरी सुस्तरी
जब धरतीमा
घामका डोबहरू
मेटिदै मेटिदै जान्छन्
सागरका छालहरुको आवाज
जब बढ्दै बढ्दै जान्छ
तब म भित्र
अंतर्वेदनाको ठुलो कोलाहल
बढ्दै बढ्दै जान्छ ।
सुनसान रातहरु जब ढल्दै ढल्दै जान्छन्
चेहराहरु थकित बनेर जब सुस्ताउन थाल्छन्
नीरव रातका हल्लाहरु जब शान्त हुदै जान्छन्
अनि म भित्र
असान्त मनको अंतर्वेदनाहरु
चर्किदै चर्किदै जान्छन् ।
म कतै हराएजस्तै
म कतै मेटिएजस्तै
कता कता
चंगा चुडिएजस्तै
भएर पनि नभएजस्तै
यतै भएर पनि उतै कतै भएजस्तै ।
कता कता
समुन्द्रमा बिलाएजस्तै
कहाँ कहाँ, कता कता
परदेशमा भएर पनि
म त्यहीँ वरपर त्यतै
गाउँको मझेरीमा भएजस्तै ।
मान्छे मान्छेको भिडभित्र
मेरा मित्रहरु
प्रकाश, हरिमान र तुलसीका अनुहारहरु
गीत संगीतको झंकारभित्र
नारायण गोपाल, अम्बर गुरुङ र दीपका आवाजहरु
थुप्रिएका हिउँका पहाडहरुभित्र
तीनजुरे र फुलचोकी डाँडाका यादहरु
सहर भित्रका बजार र मल हरुभित्र
ठमेल र झोंछेका गल्लीहरु ।
कस्तरी परदेशमा यादहरुलाई
बिगतका यादहरुले
पत्रै पत्रै बनेर थिचेर राखेका छन्
सफा संगमर्मरको
शिलालेखमा कुंदिएझैं
बर्षौं बर्ष पनि पारदर्शीझैं बनेर
यादहरु कस्तरी नामेट बनेर
बिर्सनै नसकिने भएर बसेछ ।
मेरो गाउँ, बजार, शहर र मान्छे
मेरो आँखामा
यहाँ परदेशमा !!!
(भर्जिनया, अमेरिका)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।