अनौठो आवाज आइरहेछ- ग्यासच्याम्बरमा यहुदीहरू चिच्याइरहेजस्तो पोर्नहाउसमा पोर्नस्टारहरूले खित्का छोडेजस्तो चन्द्र समसेरको कोठीमा धाईआमाहरूको खासखुस जस्तो पागलखानामा एउटा तानाशाह कराइरहेजस्तो । यो बन्दरगाहमा- के व्यापार चली रहेछ ? कसले छर्दैछ अफिमको गन्ध ? कि कोही नयाँ कोलम्वसले कोही सम्राटलाई उपहार थमाउन कसले दासहरू जहाजमा खाँदिरहेछ ? कि कोही उत्तरआधुनिक महाकवि भावको डु्ङ्गा डुबाइरहेछ ? यो बन्दरगाहमा संवेदना शुन्य छ यहाँ प्रत्येक हावाको झोँक्कामा विषाक्त कार्बनको उत्सर्जन छ समुद्रको लहर छेउ लागेझैँ प्रत्येक क्षणमा मानवताको निर्मम विसर्जन छ । ओ ! प्रिय साथी, जीवनको बन्दरगाहमा छौँ हामी पानीको अणु अणु मिसिएझैँ आऊ! प्रेमले एकअर्कामा सम्मिलित होऔँ । (ताप्लेजुङ)