मेरो घरको कोठाभित्र एउटा मुसो पसेको छ। टोकिरहन्छ अनवरत उसका दाँतहरुले नयाँ कम्बल, कोठाभित्रका कागजहरु, दाल- चामलहरु पुस्तकका पानाहरू, पत्रिकाका रंगीन पृष्ठाहरु उसले टोकेको आवाज म रातभरि सुन्दछु र समात्न खोज्दछु उसको चिप्लो पुच्छर भागेर लुकिहाल्छ पुरानो आलमारीको पल्लो कुनामा । मलाई डर लाग्न थालेको छ इतिहासको त्यो सिंगो पातो उसले निल्नै आँटेको छ जसबाट चिच्याएर हेर्छन् मेरा पूर्खाका वीरत्वहरु गोर्कीकी आमा, टलस्टयकी अन्ना र लोर्काका कविताहरू हेनरीको अन्तिम पातोतिर म एकोहोरो हेरिरहन्छु नजिक पुग्नेबित्तिकै मलाई देखेर ऊ कुदिहाल्छ । तीखा दाँतहरु झन् विषालु भएका छन् उसका विस्तारै चाट्न थाल्दैछ अनिंदा रातका पहरहरु मेरो उपस्थितिलाई वास्ता नै नगरी ऊ दगुरिरहन्छ यता र उता । दिनभरि बटुल्न थाल्छु उसले फ्याँकेका टुक्राहरू लथालिङ्ग पारेर छोडेका पुस्तकका ठेलीहरु अब फेरि कसरी पढ्न पाउनु निलिसकेको सिंगो दलिलको रुपरेखा । म अझै खोज्दैछु मुसोलाई कोठाभित्र जसरी भए पनि म उसलाई समात्ने कोशिशमा छु यसबेला ऊ मेरो मुटुभित्र पसिसकेको रहेछ अनि चबाइरहेको छ मेरो रातो कलेजो कुटु कुटु..... । (तेजपुर, असाम)