मलाई
एक मुठी माटो भए पुग्छ
मेरो देशको
जहाँ परतन्त्रतामाथि धावा बोल्दै
स्वतन्त्रताको एउटा बिज
उम्रने एउटा युग जन्मियोस
त्यही माटोले
विभेद, अन्याय, अत्याचारका
धाँजाहरु पुरिऊन्
खुशी फुलाउदै सुख
बिजारोपण गर्न सकूँ
यही माटोमा
दुश्मनको गोली परास्त गर्ने
जङ्गे पिल्लरहरु उठाउन सकूँ
मेची दुख्दा महाकालीमा
एकताको फूल फूलाउन सकूँ
परतन्त्रतालाई पगरी गुँथेर
स्वतन्त्रता र समानताले
छाती फूलाउन सकूँ ।
एक मुठी माटो भए पुग्छ
मलाई मेरो देशको
जहाँ चिन्तनहीन स्वार्थी
मनोवृत्तिले ग्रसित स्वार्थका बिजहरु
नउम्रिदै निमोठिउन्
यही माटोमा इतिहासका
ठूलठूला कालखण्डहरु
शिला बनेर बसून्
ऐतिहासिक मानचित्रमा
सिन्धुमा हराएको बिन्दु नहोस्
मेरो देश अनि मैले टेकेको माटो ।
हो साँच्चै गर्व लाग्छ
मैले टेकेको एक मुठी माटोसँग
जहाँ म आगोको लप्काहरुसँग जलिरहँदा
आसँका बुँदसँग खुसीको भिख मागिरहँदा
त्यो डाहा मार्ने शितलता तिमीबाटै पाउने गर्छु ।
अब यही माटोमा
वादभन्दा माथि उठेर राजनीति
फूलाउन सक्नुपर्छ
जात, धर्म, वर्ग भुली पावन दिन
भित्राउन सक्नुपर्छ
टिष्टा दुख्दा काँगडाले
आँसु बगाउन सक्नुपर्छ ।
(मान्द्रे, भोजपुर)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।