मबाट मेरो सबै खोसियो
आमा बुबा खोसिए
मेरो थर खोसियो मेरो गाउँ घर खोसियो
मेरा सपनाहरु खोसिए
रहर चाहना र इच्छा खोसिए
मेरो नामको पछाडि थर अर्कैको थपियो
ममाथि कसैको श्रीमती हो भन्ने ट्याग लाग्यो
अब म कसैकी बुहारी बनेँ
कसैकी भाउजु बनेँ
कसैकी आन्टी बनेँ
म म बन्ने प्रयास गरिरहेँ
तर मबाट सबैले सधैं फाइदा लिन
मलाई म बन्न नै दिएनन् ।
कसैले राम्री भने
कसैले सुन्दरी भने
कसैले सेक्सी भने
तर कसैले पनि यो भनेनन् कि
वास्तवमा म को हुँ ? के हुँ ?
के म कसैको खेलौना हुँ र ?
सबैको जवाफमा नाई र हैन भन्ने हुन्छ
तर व्यवहारमा म खेलौना सरह बनेकी छु ।
ममाथि हुकुमत चलाउने धेरै आए
सासुससुरा, देवरबन्द अनि छरछिमेकी पनि
साएद म चरी थिए
आज पखेटा काटिए
नदीको माछा थिएँ कुवामा ल्याएर थन्काई दियो ।
जिन्दगी बस् घरको चुलो चौको
अनि बन पाखा र खेतबारीमै सीमित भयो ।
मलाई म बन्न प्रेरित गर्न
म सिवाय अरु कोही आएनन्
जीवनभर साथ दिन्छु भनेर
सात फेरा आगो वरिपरि घुमाउने श्रीमानले समेत
मलाई म बन्न दिएन
आमाको बुहारी बनायो
भाइ बहिनीको भाउजु बनायो
दिदीको बहिनी बनायो
तर म को थिएँ अनि म के बन्नु पर्छ भन्ने
कहिल्यै सुनेनन् र मलाई बन्न दिएनन् ।
आज म म छैन
ममाथि कसैको हुकुमत छ
अझ फेरि उही ममाथि खोट देख्दै छ
उसैको रोजाइको मान्छे हो म
आज उही मलाई त यस्ती त उस्ती भन्दै छ ।
के म कुनै चीजवस्तु हुँ र ?
एकचोटी प्रयोगपछि फ्याक्नलाई
स्वर्गको सपना देखाएर उसले
चिहानको जीवन जिउन बाध्य बनायो
म पटक पटक आफ्नै श्रीमानबाट बलात्कृत भएँ
मेरो इच्छा विपरीत ऊ हरेक काम गरिरह्यो
मेरा सपनामाथि जबर्जस्ती पानी खनायो ।
साएद एउटा नारीको जीवन
हरेक दृष्टिकोणबाट बलात्कृत हुँदोरहेछ।
इच्छा विपरीत गरिने कार्य यदि बलात्कार हो भने
यो समाजले अनि उसको घरपरिवारले
मेरो जीवनमा र ममाथि पटक पटक सयौँ पटक
बलात्कार गरिरहे
मेरो चित्कारमा रमाउने मेरै सासु ससुरा
मेरो आँशुमा रमाउने मेरो देवर भाउजु
मेरो खुसीमा जल्ने नन्दहरु
अनि मेरो सपनामा आगो लगाउने श्रीमान
यी सबैले मलाई बलात्कार गरिरहे ।
साएद जेलभित्रको कैदी अनि
म घरभित्रको कैदी उस्ता उस्तै हो
फरक यत्ति हो ऊ बन्द कारागारमा
अनि म खुल्ला हाहाकारमा ।
स्वतन्त्र भनेको उड्ने चरीजस्तै हुन्छ रे
तर मेरा त पखेटा काटिएका छन
म परिधिको परिबन्धमा यसरी फसिरहेँ
जहाँबाट उम्किन लास हुनुपर्छ
हुन त म एउटा जिउँदो लास बनेकी छु
तर त्यो परीबन्धबाट उम्किन
अझै लास बन्नु पर्ने रहेछ ।
(धनगढी)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।