सिरसिर चलेको बतास
पहेँलो फुलेको तोरीबारी
अनि हावाले उडाएको पछ्यौरी
व्याकराउन्डमा भ्वाइलिनको संगीत
आहा.... कस्तो मनोरम !
मायाले भरिएका बेलुनहरु उडाउँदै
हरियाली धर्तीको काखमा
तिमी मुस्कुराउँदा लाग्छ
आज सारा धर्ती नै प्रेममय बनेको छ।
यो प्रेम कति अनौठो हुन्छ है ?
यसरी तिमी प्रेमको सुवास छर्दै मुस्कुराउँदा,
म भने गुलाबका फुलहरूको स्पर्श लिँदै
तिमीलाई सुस्तरी सुस्तरी चिहाइरहेको हुन्छु,
कति मिठो हुन्छ है यो प्रेमको बन्धन ?
न त यसलाई कुनै धागो चाहिन्छ न त कुनै डोरी।
त्यही पनि तिमीसँगै बाधिएको छु म।
शान्त छौ सागरजस्तै
निष्चल छौ नदीजस्तै
प्रिये ! आज यो प्रणय दिवसको अवसरमा
ह्रदय भरको माया र ह्याप्पी प्रणयदिवस भन्न चाहन्छु।
प्रिये !
तिम्रा हरेक सम्बोधन गरिएका शब्दहरुमा
कति मिठासपूर्ण भावनाहरु छन्
आदर, त्याग अनि कति समर्पणहरु छन्
म यी मेरा सापट लिएका शब्दहरुले ब्याख्या गर्न सक्दिनँ ।
तिमी त हिमालकी छोरी
सेताम्मे चाँदी रंगका हिमका डल्लामा हुर्कीएकी छोरी
तिम्रो अनुहारमा चम्केको चमकले भन्छ
तिमी सुर्यमूखी हौ
तिमी अप्सरा हौ
तिमी स्वर्गकी परी हौ,
हरेक तिम्रो बोली बचन सुन्दा लाग्छ
तिमी कति कोमल छौ ?
कति दयालु ह्रदयकी छौ ?
मेरा पीडाहरु
अनि यो मेरो छातीमा लागेको घाउ
तुरुन्तै निको पार्न सक्ने
त्यो तिम्रो मुखारबिन्दबाट निस्किएका
कोकिल वाणीहरु मलमयुक्त छन।
तिमीले एक शब्द मात्रै बोल्दा पनि
यो छातीको दुखिरहेको घाउ सन्चो भएको अनुभव हुन्छ
कति कोमल अनि दयालु हृदय तिम्रो ?
मैले बोलेका प्रत्येक शब्दहरू
नियालेर मेरो पीडा अनि दुःखेको घाउ तुरुन्त छाम्न सक्ने।
जीवन सङ्घर्षको क्रममा मरुभुमीपूर्ण उकाली ओरालीहरुमा
लगातार यात्रा गर्दा भेटिएका काँडेतार
र क्याक्टसहरुले चिथोरेर रक्ताम्य भएको मेरो चहर्याएको घाउमा
तिम्रा शीतल बाणीहरुले तत्काल मल्हम लगाउन सक्ने
रोइरहेको मेरो यो अतृप्त मनलाई
बिचारको माध्यमद्धारा तत्काल हँसाउन सक्ने
तिम्रो नि:स्वार्थ माया
मोहिनी रूप र अथाह खुबीहरुबिच
थाहै नपाई सुस्त सुस्त
म तिम्रो मायाँको छाहारीमा ओत लाग्न पुगेछु।
त्यसपछि तिमी मेरी प्रेमिका बन्न पुगेउ।
हो तिमी मेरी प्रेमिका !
तिमी आजकल मेरो जिन्दगीको एक पात्र बनेकी छौ
तिमी मेरो धड्कन बनेकी छौ
तिमीसँग कुरा गर्न थालेदेखि धेरै परिवर्तन भएको छु म
तिम्रा हरेक तस्वीरहरु पल्टाएर हेर्न थालेँ
तिम्रा हरेक स्टाटसहरु कोट्याएर पढ्न थालेँ
अनि ति तस्वीरका कोण कोणमा
ति स्टाटसका शब्द शब्दमा
मैले...
आफ्नै कथा देख्न थालेँ
आफ्नै ब्यथा भेट्टाउन थालेँ।
तिम्रो कथामा मेरो कथा पाएँ
अनि तिम्रो ब्यथामा मेरो ब्यथा पाएँ
यो कसरी सम्भब भयो ?
कथा एउटै, ब्यथा एउटै
हरेक दुख पिडाहरु एउटै
त्यसैले आजकल-
तिमी एक बिश्वासीलो पात्र बनेकी छौ
तिमी मेरो लागि हौसला बनेकी छौ ।
(एडिलेड, साउथ अस्ट्रेलिया)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।