‘असारे मासको दबदबे हिलो छि मलाई घिन लाग्यो
पातली नानीलाई फरिया किन्दा छ बिस रिन लाग्यो ।’
नेपालमा आज असार १५ अर्थात रोपाइँ महोत्सव धुमधामसँग मनाइँदै छ । नेपाली समाजमा असार पन्ध्र भन्दाबित्तिकै धान र खेत सँगै जोडिएर आउँछन् । धान रोप्ने समयको मुख्य दिन हो असार पन्ध्र । मानो खाएर मुरी फलाउने दिनमा रूपमा लिइन्छ यस दिनलाई । कसैले अलि हतारो ग¥यो भने तँलाई कस्तो असार पन्ध्र हो भन्ने चलन छ हाम्रोमा । यसको अर्थ हो असार पन्ध्र वर्षभरिको सबैभन्दा व्यस्त दिन हो । यो दिनमा कोही नेपाली पनि घरमा हुन्न, खेतमा हुन्छ ।
पानी झमझम परेको बेला छतरी ओढेर खेतमा काम गर्नुको मजै बेग्लै हुन्छ । किसानमा अर्कै आनन्दको अनुभूति हुन्छ यो दिन । उसलाई पानी परेकोमा कुनै गुनासो हुन्न बरु पानी परेन भने गुनासो हुन्छ ।
नेपालमा असार पन्ध्रलाई आआफ्नै तरीकारले मनाउने चलन छ । कहीँ यो दिनलाई दही चिउरा खाएर मनाउने चलन छ, कहीँ धान रोपेर मनाउने चलन छ । रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ । नेपाल सरकारले यो दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँछ भने अधिकांस किसानले रोपाइँ महोत्सवको रूपमा । धान दिवस र रोपाइँ महोत्सवको अर्थ एउटै हो । किसानले यसलाई आफ्नो जीवनपद्धतिसँग जोडेर मनाउँछन् । कहीँ दही चिउरा खाने त कहीँ चामरे बनाएर खेतमै लगेर खाने चलन छ । कतिपय ठाउँमा खेतमैै भात, गावाको तरकारी र आँपको अचार बनाएर ख्वाउने चलन छ । तराईतिर यसरी खेतमा खेतालालाई लगिदिएको खाजालाई जलखाई भनिन्छ । समामन्यतया जलखाईमा गहुँको पिठोको मोटो रोटी र नुन तेल खोर्सानी अचार आदि खाने चलन छ ।
‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला
बनाई कुलो लगाई पानी आएर गोडौँला ।’
माथि राखिएका लोकलयमा आधारित गीत धान रोप्दा गाइने असारे गीतका टुक्रा हुन् । यस्तै किसिमका लोक लयमा आधारिक गीत गाउँदै सामुहिक रूपमा धान रोप्ने चलन नेपालभरि नै छ । धान रोप्दा गीत मात्र गाइँदैन अलि ठूलो धानखेत हुने र सम्पन्नहरूले बाजागाजासहित रोपाइँ गर्ने चलन छ ।
धान रोप्दा गीत गाउने र खाने तरीकामा फरक भए पनि रमाउने चलन भने नेपालभरि समानजस्तै देखिन्छ । त्यो हो हिलो छ्यापाछ्याप गर्ने । नेपालमा सबैतिर प्रायः साँझतिर बाउसे र खेतारीबिच हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने प्रचलन छ । यही नै रोपाइँ महोत्वसको उच्चतम र रमाइलो क्षण हो । केही वर्ष पहिलेसम्म बेलुका घर फर्किदा असारे दोहोरी गाउँदै फर्किने चलन पनि थियो । अहिले भने यो चलन विस्तारै हराउँदै गएको छ । अब यो संस्कृति देखावटी र बनाबटी हुँदै गएको देखिन्छ ।
विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्रा्ष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसङ्घले धान वर्ष घोषणा गरेपछि नेपालले पनि वि.सं. २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।
खाद्य तथा पोषण सुरक्षाका दृष्टिबाट मानिसलाई आवश्यक पर्ने क्यालोरीको २० प्रतिशत हिस्सा चामलमै पाइन्छ । विश्वका ११४ मुलुकमा धानको उत्पादन हुने गर्छ । संसारमा १६ करोड ३२ लाख हेक्टरमा ७४ करोड नौ लाख मेट्रिक टन धान उत्पादन हुन्छ । सबैभन्दा बढी धान उत्पादन गर्ने मुलुक चीन हो । यसपछि क्रमशः भारत, इन्डोनेसिया, बङ्गलादेश, भियतनाम, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान रहेका छन् ।
सन् १९७० को दशक अघिसम्म धान निर्यात गर्ने राष्ट्रमा नेपाल पनि पर्थ्यो । अहिले भने आयात गर्नेमध्येमा अग्रपङ्क्तिमा पर्छ । सरकारले धान दिवस मनाउने चलन ल्याउँदैमा धान उत्पादन बढ्ने हैन यसका लागि कृषिमा आधुनिकीकरण र दीर्घकालीन योजना सहित उत्पादन बढाउनतिर लाग्नुपर्छ । एक दिन असार पन्ध्रमा रोपाइँ महोत्सव मनाउँदैमा हाम्रो कर्तव्य पूरा हुँदैन ।
आजको दिन अर्थात धान दिवसको उपलक्ष्यमा प्रधानमन्त्रीले सम्पूर्ण किसानहरूलाई शुभकामना सन्देश दिने प्रचलन पनि रहेको छ । यसबाट पनि असार पन्ध्रको महत्व झल्किन्छ ।
हुन त नेपाली कृषि त्यसमा पनि धान रोपाइँ मनसुनमा भर पर्छ । जति छिटो मनसुन आयो असार पन्ध्रको रौनक उति नै बढेर जान्छ । यसपल्ट मनसुन छिट्टै प्रवेश गरेकोले असार पन्ध्रको रौनक पनि बढेको पाइन्छ । सबैतिर खासगरी पहाडी भागमा रोपाइँको चटारो सुरु भैसकेको छ ।