तिम्रो क्रान्ति
जलेर खरानी हुनै लाग्दा
रगत पोखेर,
निभाएको हुँ आगो
दौडाएको हुँ तिमिलाई
बैशाखी टेकेर,
र
पठाएको हुँ सरकारमा
सबथोक रित्तिएर ।
आज
जीवन मरणको दोसाँधमा
कम्तीमा
अस्पतालको एउटा शैया
माग्दा नमाग्दै
धरौटीमा
जीवनको आहुति माग्ने
तिम्रो शक्तिशाली साम्राज्यको
क्रूरता प्रदर्शन देखेर
म बाध्य छु
आँखा छोप्न
कान थुन्न ।
ए ! गणतन्त्रका रजौटे हो
राख यो अस्मिता धरौटी
गर बलत्कार ममाथि
उठाऊ तिम्रा सरकारी शुल्कहरू
चुस अनुहारका रंगहरू,
र रंगाऊ तिम्रा छेपारे छाला ।
तिम्रा शुल्कका पासाहरू
घाँटीबाट निकाल्न नपाउँदै
यदि
मरिहालेछु भने
खबरदार
पञ्जिकाधिकारीको रातो मसीले
मेरो मृत्यु दर्ताको प्रमाणमा
दस्तखत गर्ने चेस्टा
कदापि नगर्नुहोला ।
(नुवाकोट हाल अष्ट्रेलिया)