तराईको विकट गाउँमा बुबाआमा र सरिता बसोबास गर्दै आएका थिए । सरिताको बुबा गाउँ कै सरकारि स्कुलमा अध्यापन गर्थेँ भने सरिता पनि सोही बिधालयमा अध्ययन गर्थिन।
गाउमा छोरी मान्छेले शिक्षा लिनु युद्द जित्नु जस्तै मानिन्थ्यो। सरिताको बुवा शिक्षक भएकै कारणले अध्ययन गर्न उनलाई छुट थियो। प्रायजसो कक्षामा छात्राहरु कम हुने भएकाले सरिता दुखित थिइन्। सरिताले मनमनै प्रण गरिन् कि, यस विद्यालयमा हरेक छोरीले अध्ययन गर्ने वातावरण बनोस्, तब मात्र सबैमा न्याय मिल्ने उनको बिचार पलायो। भविष्यमा यही विद्यालयमा महिला शिक्षक बनेर गाउका सबै छोरीलाई छोरा सरह शिक्षित बनाउने मनमनै अठोट लिइन्।
केही बर्षपछि सरिताले विद्यालयबाट एसएलसी परीक्षा पास गरिन् । उच्च शिक्षा अध्ययनसँगै आफूले अध्ययन गरेको विद्यालयमा बाल तथा प्रौढ कक्षा संचालन गर्न शुरु गरिन।
केही बर्षमा नै आज गाउँ पूर्ण साक्षर गाउँको रुपमा घोषणा भएको छ । छोरा सरह छोरी अनि प्रौढ आमाहरु पनि शिक्षित भएपछि छोराछोरीलाई समान व्यवहार गर्न थालिएको छ ।
महिलाहरुले पनि केही गर्न सक्छ भन्ने उदाहरण सरिताले समाजमा देखाउन सफल भएकी छन् । आजकल गाउँमा आफ्नो अधिकार लगायत समाजका जुनसुकै विषयमा महिलाहरू खुलेर लाग्न थालेका छन्। साँच्चिकै गाउँका आमा दिदिबहिनीहरु न्यायको खोजी र अधिकारको लागि कम्मर कसेर लागेका छन्।आखिर “गरे के हुन्न !” भन्ने आत्मबिश्वासले सरिता मनमनै मख्ख छिन्।
(दमौली, तनहुँ)