उनीहरू
विद्यालय बनाउँछन्
तर पढन जाँदैनन् ।
अस्पताल बनाउँछन्
उपचार गर्न जाँदैनन् ।
पालैपालो
सबैका लागि मरिदिन्छन्
आफ्नो भाग खोज्दैनन् ।
वर्षौंदेखि
पटक पटकका क्रान्ति
पटक पटकका बिद्रोह
पटक पटकका परिवर्तन
उनीहरूकै लागि भनेर
अरुहरूकै लागि भएका छन् ।
सबैका जन्ती
सबैका मलामी
उनीहरूलाई नबदल्नुहोस्
उस्तै राख्नुहोस्
उनीहरू नभए
कसले गर्छ आन्दोलन ?
कसले थाप्छ छातीमा तातो गोली ?
कसले बगाउँछ
बेहिसाब रातो रगत ?
उनीहरू नभए
कसका नाममा गर्ने
उत्तेजक भाषण ?
कसका लागि थापिदिने
रित्तो मत पेटिका ?
जङ्गबहादुरको मस्तिष्क प्रत्यारोपण गरेर
पालैपालो
मार्क्सको भाषा बोल्दै गर्नुस्
हिटलरको अनुहारमा
बुद्धको मखुण्डो लगाइराख्नुहोस्
ब्यालेन्स नभएको खाताको चेक
परैबाट देखाएर लोभ्याइ रहनुस् ।
प्रलयहरू आउँदै गर्छन्
महामारीहरू आउँदै गर्छन्
उनीहरू बिरामी पर्दैनन्
उनीहरू अस्पताल जाँदैनन्
उनीहरूको विषयमा बोल्दिए मात्र पुग्छ
ढुक्क हुनुहोस्
गरीबहरू कालले मर्छन्
रोगले मर्दैनन् ।
(अरुण, भोजपुर हाल चितवन)