म तिम्रो सालिक बनाउने छु तिम्रो शरीर तिम्रो छालाजस्तै गहुँभन्दा गोरो बनाइदिनेछु, शिरमा मुकुट भालेको सिउरबाट बनाइदिनेछु एक हातमा मनुस्मृतिको बढेमानको किताब राख्दिम्ला काधमा तिम्ले सदियौँदेखि बाँधेको कुरितीको डोरी नि सजाइदिम्ला मुटु ? जिउँदो हुँदा नभएको मुटु सालिकभित्र कसरी कल्पना गर्न सक्नु ? बरु आँखा बनाइदिम्ला आँखामा मज्जाले अट्ने सनग्लास बनाइदिम्ला तर प्रिये अमानव ! म नबनाइ छाड्दिनँ तिम्रो बढेमानको सालिक तर त्यहीँ राख्नेछु तिमीलाई जहाँ हरेक दिन मेरो भविष्यले तिमीलाई थुक्न सकोस् । (कालेबुङ, भारत)