कतै लेखिएको छैन
कुनै बहीखातामा
ती अनिँदा रातहरूको हरहिसाब
न दर्ता छ
त्यो रगत नै कुनै दस्तावेजमा ।
फुटेका चुराहरू
सिस्नुघारीमा विसर्जित गरिँदा होस्
कि चर्केका ऐनाहरूसँगै
सपनाहरू विसर्जन गरिँदा होस्
या भाँडाकुटी र पुतलीको बिहे
असान्दर्भिक पारिएका बेला होस्
राखिएको थिएन कुनै हिसाब ।
त्यो बेला जब
कोपिलाहरू फूल बन्नु पहिल्यै
शिकारमा हिँडेका थिए
आकाश मुक्त हुनुपर्ने नारा लाएर
उडेका थिए
हुलका हुल परेवाहरू ।
कसैलाई हेक्का थिएन होला
ढुङ्गा घिसिएर
माटो होउञ्जेल सम्म पनि
चुरा र ऐनाका टुक्राहरू
परित्याग गर्ने छैनन्
आफ्नो धार
असान्दर्भिक सौन्दर्यमा
फक्रिन पाउने छैन बचपन
र गन्हाउन छाड्ने छैन
फूलहरूमा बारुद
र फेरि पनि मुक्त हुने छैन
परेवाहरूको आकाश ।
बहुलठ्ठी अमिनहरू
आकाशको नाप लिँदै
कित्ता-कित्तामा
विभाजित गर्ने छन्
एकाबिहानै
पूर्वाकाशको प्रवेशाज्ञा नपाएर
शुक्र जिल्लाराम हुनेछ
र सुकुम्बासी नै रहिरहने छन्
परेवाहरू ।
र यो जोड घटाउबिच
कहीँ राखिने छैन हरहिसाब
ती अनिँदा रातहरूको
त्यस रगतको
ती चुराका टुक्राहरूको
ती शिकारमा निस्केका कोपिलाहरूको
ती स्वतन्त्र आकाशका पक्षपाती परेवाहरूको
र बहुलठ्ठी अमिनहरू
कित्ता-कित्तामा
विभाजित गरिराख्ने छन्
सग्लो आकाश.......
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।