पढेपछि आफूले
कुनै सुन्दर वाल कथा
हतार हतार
रहर लाग्ने रहेछ
पहिले आफ्नै छोराछोरीलाई सुनाऊँ
र लाभान्वित बनाऊँ तिनीहरूलाई
संसारकै सुन्दर सिर्जना पढाएर !
जब तिनीहरूले मुन्टो बटार्छन्
मोवाइलबाट आँखै हटाउँदैनन्
र भन्छन्-
'ह्या ड्याडी पनि
कस्तो वोर गर्नु हुन्छ भन्या !
कथा पढेर को ठूलो मान्छे बनेको छ खै ?'
त्यसपछि
देशका छोराछोरी पनि
छोराछोरी नै त हुन् भन्दै
जीवनका सुन्दर सुन्दर कथाहरू
देशका छोराछोरीलाई सुनाउँछु
र, आनन्दको एक झोक्का सास फेर्छु म !
मलाई थाहा छैन
मेरो पहिलो छनौट
सही थियो या गलत
मेरो पहिलो छनौट
अवसरवादी थियो या क्रान्तिकारी ?
लेखिसकेपछि,
कहीँ भेटाएपछि
या अनुवाद गरिसकेपछि
एउटा जीवन्त कविता
रहर उसैगरी लाग्नेरहेछ
कविताको पहिलो पाठक
आफ्नै श्रीमतीलाई बनाऊँ
उनको सुझाव लिऊँ
र अझ समृध्द बनाऊँ कविता
तर जब सिरियलबाट
मरे आँखा हटाउदिनन् उनले पनि
या यसरी आँखा तर्छिन् कि
कविता कुन त्यस्तो ओखती हो
जसलाई सिरियल छोडेर हेरियोस् ।
उल्टै झर्किएर सोध्छिन्
'तपाईको कविताले पेट भरिन्छ ?
कविताले लाज छोपिन्छ ?
या ओत लाग्न हुन्छ
घाम-पानीमा कविताको छाता ओढेर ?'
उनी बुझ्दिनन्
मूल्य नुन र सुनको मात्र हुँदैन
बरू कविताको पनि हुन्छ
र बजारमा उच्च मूल्य हुने चिज मात्रै
संसारमा मूल्यवान हुँदैनन्
जब मसँग कुनै भाषा हुदैन संझाउने
जब उनीसँग दिल हुँदैन कविता बुझ्ने
त्यसपछि बल्ल म
अन्य पाठकहरूको खोजी गर्न थाल्छु ।
म अझै उल्झनमै छु
मेरो पहिलो छनौट
स्वास्नीवादी थियो कि समाजवादी ?
बजारमा किनेको
मिठो चकलेटजस्तै
आँखा झिम्क्याउने
रङ्गीन खेलौनाजस्तै
करेसाबारीमा टिपिएको
कलिलो काँक्रोजस्तै
या बिबाहलगत्तै लाहुर गएको लाहुरेले
मायालुलाई ल्याइदिएको शिरफूलजस्तै
जब म
सबैभन्दा सुन्दर कथा
आफ्नै छोराछोरीलाई सुनाउन चाहन्छु
सबैभन्दा सुन्दर कविता
आफ्नै श्रीमतीलाई सुनाउन चाहन्छु
जब सुन्न मान्दैनन् ती
म निराश हुन्छु / रिसाउँछु
बल्ल घर बाहिर मन घुमाउँछु !
म वारम्वार उल्झनमा हुन्छु
मैले गरिरहेको यो कामले
म को हुँ भन्ने प्रमाणित गर्छ
बाल साहित्यवादी या व्यक्तिवादी ?
स्वास्नीवादी या समाजवादी ?
(सिन्धुली)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।