ऊ सगरमाथाभन्दा आफूलाई अग्लो ठान्छ ससाना देशहरूलाई दास मान्छ शक्तिको उन्मादले मस्त विश्वलाई आफ्नो नियन्त्रणमा राख्न खोज्द छ । ऊ विश्वको शक्तिशाली विशिष्ट मान्छे उसले जे भन्छ सवैले स्वीकार गर्नुपर्छ असत्यलाइ पनि सत्य मान्नुपर्छ त्यसैले त ऊ विश्वको शक्तिशाली मान्छे । उसका लागि विश्व सानु छ संसारका प्राणीहरू तुच्छ छन् कहिले हिन्द र कहिले प्रशान्त महासागरमा सयर गर्छ । ऊ आफूलाई प्रजातन्त्रको मसिया ठान्छ निशस्त्रीकरणको मुद्दा उठाउँछ अनि आफू आणविक हतियार बनाउँछ विश्वमा हतियार विक्री गर्छ त्यसैले त ऊ शक्तिशाली मान्छे । नसा नसामा नस्लको रक्तसंचार गर्दै सेता कालाबिचमा विभेदको रङ भर्दै छद्म भेषमा विभिन्न देशमा प्रभुत्व जमाउँछ ऊ मत्ता हात्तीजस्तै भएको छ । कहिले धर्ममा कहिले संस्कृतिमा जातजातिहरूमा विद्रोहको आगो सल्काउँछ विचार किनबेच गर्छ पुँजीवादको विरोध गर्नेलाई क्षेप्याश्त्रले स्वागत गर्दछ त्यसैले ऊ शक्तिशाली मान्छे । उसको रगत रातो छ अनुहार सेतो छ मन मस्तिष्क कालो एवम् कठोर छ बिच सडकमा कठोरतापूर्वक थिचीथिची कालो नश्लको मानिस मारिरहदा रमिते मानिसहरू हर्षोल्लास मनाउँछन् । कहाँ छ अन्तर्राष्टि्य मानव अधिकार कहाँ छन् न्यायालय र न्यायाधीशहरू ? भूमण्डलीकरणको सभ्य भनिने युग यान्त्रिकरणको दुश्चक्रमा फसेको छ मिसाइलका भाषाहरू पढिन्छन् बोलिन्छन् पलभरमै सभ्यता र संस्कृति समाप्त हुन्छन् । (मोरङ)